संघर्षको तयारीमा एमाओवादी नेतृत्वको मोर्चा, महरा, त्रिपाठीसहित ११ जना आन्दोलनको खाका बनाउँदै


kb maharaएकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)सँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय संैजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल गठन गरेको छ । सोमबार कार्यदलले सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि सोमबार नै अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका सदस्य तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बताउनुभयो । बैठकमा एमाओवादीले शनिबार काँग्रेस र एमालेसँग भएको छलफलका बारेमा जानकारी गराउँदै अब सङ्घर्षमा जानुको विकल्प नरहेको बताए पनि मोर्चामा वार्ता र सङ्घर्ष सँगसँगै अघि बढाउनेबारेमा सहमति भएको बताइएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनी प्रमुख तीन दलबीच भएको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?