शब्दमाला भाषा विद्यालयको वार्षिक साधारण सभामा बालबालिकाको आकर्षक प्रस्तुति
नेपाली भाषा विद्यालय शब्दमालाको वार्षिक साधारणसभा सिड्नीको एसफिल्डस्थित पुलिस क्लबमा सम्पन्न भएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ गाला डिनरको आयोजना गरी विद्यार्थी, अभिभावकहरु सहभागी बनेको यस कार्यक्रममा संस्थालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा सिड्नीमा रहेका सबै शाखाका संयोजकहरुले आफ्नो प्रस्तुति दिएका थिए । चार वर्षअघि स्थापना भएको शब्दमालामा यतिबेला ८० भन्दा बढी विद्यार्थी नेपाली भाषा सिकिरहेका छन् । हरेक दुई वर्षमा नेतृत्व चयन गर्दै साधारणसभा सम्पन्न हुने गरेको छ भने हरेक वर्ष कार्य समिक्षा गर्ने गरिएको अध्यक्ष विक्रम खरेलले एमएनटीभीलाई जानकारी दिनुभयो । आफ्नो भाषा र संस्कृतिको विषयमा यहीँ जन्मिएका बालबालिकाहरुलाई जानकारी दिने उद्देश्यले स्थापना गरिएको यस विद्यालयमा आएर बालबालिकाले सिकेका विविध प्रस्तुतिहरु पनि प्रदर्शन गरेका थिए । नेपाली पोशाकमा सजिएर बालबालिकाले देशभक्तिका गीत गाउँदा माहोल निकै मनमोहक बनेका थियो । अझ नेपाल एकपटक पनि नपुगेका बालबालिकाले समेत नेपाली गीतहरुमा नेपाली झण्डा उचाल्दै उत्साहपूर्ण सहभागिता जनाएको क्षण वास्तवमै स्मरणीय थियो ।