तेह्र वर्षमा सुनकोसी नदीमा पक्की पुल निर्माण, ओखलढुंगा पनि सडक मार्गबाट काठमाडौंसम्म जोडियो


bridgeपहाडी जिल्ला ओखलढुङ्गा आजदेखि राजधानीसँग सडक सञ्जालमा जोडिएको छ । उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सनुकोसी नदीमा पक्की पुल निर्माण भएका कारण ओखलढुङ्गा राजधानीसँगको सडक सञ्जालमा जोडिएको हो । पुलको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले आज यहाँ उद्घाटन गर्दै सिन्धुली, उदयुपर, खोटाङ, सोलुखुम्वु र ओखलढुङ्गाका हजारौं मानिसको जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो । मन्त्री निधिले पुल निर्माणबाट मध्यपहाडी, हिमाली र तराई क्षेत्रका समुदायको पेसा व्यवसायमा योगदान पुग्नुको साथै यस क्षेत्रको पर्यटन, जलस्रोत र कृषिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले भौतिक पूर्वाधारअन्तर्गत सडक र पुललाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पुल निर्माणले सो क्षेत्रका जनताको आर्थिक जीवनस्तरमा सकारात्मक परिवर्तन आउने धारणा राख्नुभयो । सभासद् रामहरि खतिवडा, सरस्वती बजगाई, नारायण कार्की, यज्ञराज सुनुवार, मोहन बराल, गोपाल गिरी, विशाल भट्टराई, हर्कबोल राई, पिके राई, शकुन्तला राजभण्डारी र रामचन्द्र यादवले पुल निर्माणबाट यस क्षेत्र राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यस क्षेत्रको आर्थिक, सामाजिक सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुग्ने धारणा राख्नुभयो । कुल रु २० करोड ४३ लाखको लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको सो पुलको शिलान्यास २०५९ साल असारमा भएको थियो । नेपाली लगानीमा निर्माण भएको सो पुलले हिमाल, पहाड र तराई क्षेत्रलाई जोड्नुको साथै सर्र्वोच्च शिखर सगरमाथा जाने क्षेत्रको द्वारको रुपमा सहज हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?