जातीय घृणा फैलाउने र घृणाको खेती गर्नेहरुसँग सहमति हुन नसक्ने एमाले अध्यक्ष ओलीको भनाई, २२ दलीय मोर्चा अमान्य
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान निर्माणका क्रममा देश टुक्र्याउने र जनतामा फाटो ल्याउने बाहेकका सबै बुँदामा सहमति गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । हरिवनमा आयोजित पार्टीको सर्लाही जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले साम्प्रदायिक भ्रम फैलाउने तथा जातीय घृणाको खेती गर्नेहरुसँग सहमति सम्भव नरहेको प्रस्ट्याउनुभयो । तोकिएको समयमा संविधान नबने मुलुक अगाडि बढ्न नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भरसक सहमतिका लागि प्रयास गर्ने र केही नलागे प्रक्रियाबाटै भए पनि आगामी माघ ८ गते संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । “संविधान बन्न नदिने मनशायका साथ गठन भएको एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई मान्यता दिइँदैन, कसैको अनावश्यक धम्कीले संविधान निर्माणमा केही फरक पर्दैन”उहाँले भन्नुभयो । एक फरक प्रसङ्गमा अध्यक्ष ओलीले पार्टीको नवौंँ महाधिवेशनका क्रममा गुटबन्दीलगायत केही कमजोरी देखिए पनि पछिल्लो समय एमाले एक जुट भएको जिकिर गर्नुभयो ।