धेरै प्रदेश बनाएर कहाँबाट खर्च चलाउने ? ओलीको प्रश्न आन्दोलनकारी दलहरुलाई


kp oliनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुन नदिने पक्षका सामु लोकतान्त्रिक प्रक्रियाबाट संविधान जारी गराएर देखाउन आफ्नो पार्टी लागिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तर–संवाद कार्यक्रममा अध्यक्ष ओलीले माघ ८ गते भित्र संविधान बन्छ भन्दै एमालेको जोड त्यसैमा रहेको बताउनुभयो । केही पक्ष आश्चर्यजनक रुपमा संविधान निर्माण हुन नदिने प्रयासमा जुटेको तथा संविधान जारी भए ठूलो अनिष्ट हुने, देश सङ्कटमा पर्ने, संविधानसभाभित्रै उक्तपात हुने उद्घोष गरेर कहीँ नभएको जात्रा देखाइरहेको आरोप उहाँले लगाउनुभयो । लोकतन्त्र संविधान, कानुन, नियम र नैतिकताको व्यवस्थामा कानुनअनुसार चल्न खोज्दा वा प्रक्रियामा जाऔँ भन्दा “महाराजा हुन खोज्यो” भन्ने भन्ने टिप्पणीप्रति रोष प्रकट गर्नुभयो । नेता ओलीले देशमा हिंसा भड्काउने, लोकतन्त्रलाई अस्विकार गर्ने, असमानता तथा विभेद कायम राख्ने, मुलुकलाई विखण्डित गर्ने र आर्थिक अधोगतिमा लाने प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै भन्नुभयो, “बलभद्र र अमरसिंह त अहिले छैनन्, उनीहरू छैनन् भन्दैमा जे गरे पनि हुन्छ भन्ने छैन, यो देशको सार्वभौमसत्तामा आँच पर्ने कुरा नेपाली जनताले मान्दैनन्, सङ्घीयता केटाकेटीको भाँडाकुटी खेल होइन ।” उहाँको प्रश्न छ, “धेरै प्रदेश बनाएर कहाँबाट खर्च चलाउने ? के पैसा अखबार छाप्ने प्रेसमा छाप्ने हो र ?” उहाँले विश्वमा कहीँ (अमेरिका, बेलायत र भारत) कतै पनि सर्वसहमतिमा संविधान र सत्ता नचलेको विचार व्यक्त गर्दे यस तथ्यलाई बुझ्न विपक्षीलाई आग्रह गर्नुभयो । चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले सूचना तथा सञ्चार मन्त्रालय एकपक्षीय रुपमा सञ्चालन भइरहेको गुनासो गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?