विश्वासको वातावरण बनाउँदै प्रमुख दलहरु, जिम्मा शीर्ष नेतालाई, एमाओवादी अध्यक्ष र एमाले अध्यक्षबीच छुट्टै भेट


??????????????????????????????????संविधानका विवादित विषयलाई लिएर पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच बढेको विवाद र अविश्वासको वातावरणलाई हटाउन प्रमुख दलहरू अग्रसर भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चासहितको बैठकमा दलहरूबीच संविधान निर्माणमा सहमति कायम गर्ने बारेमा छलफल भएको छ । पछिल्लो समय सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच चलेको आरोप प्रत्यारोपले दलीय वार्ता र छलफलनै अवरोध भएको थियो । सोही विषयलाई लिएर एमाओवादी नेतृत्वको गठबन्धनले विभिन्न सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको थियो । बैठकमा दुई नेताले छुटटै एक घन्टा छलफल गरी एकआपसको शङ्का र असमझदारी हटाएर सहमतिको वातावरण निर्माण गरिने र भोलिबाट चरणबद्ध छलफल गरी टुङ्गो लगाउने बताएपछि बैठक सकिएको थियो । दुई नेताबीचको आपसी तिक्तता र रस्साकसीलाई मथ्थर गरी दलीय सहमति कायम गरेर निर्धारित समयमै संविधान जारी गर्ने हेतुका साथ प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चामा आवद्ध दल सहमतिको दिशातर्फ उन्मुख देखिएका हुन् । एमाले उपाध्यक्ष भीम रावलले भन्नुभयो “हामीले प्रस्ताव राखें, पहिला तपाईहरू बसेर आपसी समझदारी गर्नुस् । एकअर्काबीचको शङ्का मेटाएर विश्वासको वातावरण बनाउनुस् अनि सहमति खोज्नु भनियो । उहाँहरूले एक घन्टा छलफल गर्नुभयो, एकअर्काबीचको शङ्काको वातावरण हटाउने समझदारी भएपछि भोलि बिहान ८ः३० बजेदेखि दुई पक्षीय छलफल चरणबद्ध गर्ने निर्णय भयो ।” चार दलबीच संविधानका विवादित विषयलाई सहमतिका साथ टुङ्गो लगाउने गरी भोलिबाट घनीभूत छलफल चलाउने सहमति भएको छ । चार दलको बैठक बस्नुअघि भोलि प्रधानमन्त्री सुशील कोइरालासँग एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले छुट्टै छलफल गर्नुहुनेछ । मोर्चाका एक घटक नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार भोलि बिहान ८ः३० बजे प्रधानमन्त्रीसँग एमाओवादी अध्यक्ष दाहालले र १० बजे एमाले अध्यक्ष ओलीले छलफल गर्ने र त्यसलगत्तै प्रधानमन्त्रीसँग मधेसी मोर्चाले छलफल गरेपछि अपराह्न ४ बजे चार दलको बैठक बस्नेछ । अध्यक्ष महतोले संविधान निर्माणमा दुई दलका शीर्ष नेताबीच बढेको अविश्वासको सङ्कटलाई सहज बनाउने आफूहरूको आग्रह बमोजिम दुई नेताले छलफल गरी सहमतिका लागि भोलिबाट गम्भीर छलफल गर्ने निर्णय भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?