चिनियाँ विदेश मन्त्रीद्वारा राष्ट्रपति यादवसँग शिष्टाचार भेट, प्रधानमन्त्रीलाई चीनको भ्रमण गर्न निम्तो
राष्ट्रपति डा रामवरण यादवसँग नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका चीनका विदेश मन्त्री वाङ् यीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । तीनदिने औपचारिक सद्भावना भ्रमणका क्रममा विदेश मन्त्री यी राजधानी आउनुभएको हो । यसअघि, चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निम्तो दिनुभएको छ । प्रधानमन्त्री कोइरालासँग सिंहदरवारमा भेट्नुभएका चिनियाँ विदेश मन्त्री यीले दुई देशको ऐतिहासिक सम्बन्धको बारेमा चर्चा गर्दै चीन भ्रमणको लागि निम्तो गर्नुभएको भेटमा संलग्न प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुुभयो । विदेशमन्त्री यीले नेपालको विकासका लागि सहयोग गर्न चीन तयार रहेको अवगत गराउँदै नेपालमा शान्ति र स्थिरता हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपालको विकासका लागि पूर्वाधारको विकास महत्वपूर्ण भएको बताउँदै त्यसमा चीनको लगानी सदुपयोग गर्न आग्रह गर्नुभयो । संविधान निर्माण समयमै होस् भन्ने चीनको सदिच्छा भएको बताउँदै नेपाल चीनको प्राथमिकतामा पर्ने बताउनुभएको परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी गराउनुभयो । उहाँले नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै चिनियाँ राष्ट्रपतिको भनाइले नेपालको प्राथमिकता जनाइसकेको अवगत गराउनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको विकासमा चीनले गरेको सहयोगको सह्रहाना गर्दै नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो । आगामी वर्ष नेपाल–चीन सम्बन्धमा ६०औँ वर्ष गाँठका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने अवगत गराउँदै प्रधानमन्त्री कोइरालाले सन् १९५९ मा बिपी कोइरालाले चीनप्रति प्रतिपादन गरेको सम्बन्ध बारेमा स्मरण गराउनुभएको सल्लाहकार भट्टराईले बताउनुभयो । प्रधानमन्त्री कोइरालाले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुहुँदै हालै मात्र चिनियाँ राष्ट्रपतिले सार्वजनिक गर्नुभएको विदेश नीतिमा नेपाललाई दिएको प्राथमिकताप्रति आभार प्रकट गर्नुभयो ।