राजनीतिज्ञ राजेश्वर देवकोटा पुनः राजनीतिमा सक्रिय हुने, राष्ट्रवादी क्रान्ति आजको आवश्यकता
राजनीतिज्ञ राजेश्वर देवकोटाले राष्ट्रिय राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्नुभएको छ । राष्ट्रवादी मोर्चाले बसन्तपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले अहिले मुलुकको अस्तित्व निकै सङ्कटमा परेको अवस्थामा राष्ट्रवादी क्रान्तिको खाँचो आवश्यक देखिएकाले आफू सक्रिय भई देश तथा जनताको सेवामा लाग्ने बताउनुभयो । मोर्चाका अध्यक्षसमेत रहनुभएका देवकोटाले २००७ सालमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न आफू राजनीतिक क्रान्तिमा लागेको भन्दै अहिले त्यसबेलाको क्रान्तिमा सहभागी सहकर्मी नेता कोही पनि नरहेकाले देशको राजनीति सही दिशामा ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वैदेशिक हस्तक्षेप बढेका कारणले देशको धर्म, भाषा, संस्कृति, इतिहाससमेत सङ्कटमा रहेकाले युवा शक्तिलाई एकजुट हुन आग्रह गर्दै गणतन्त्रमा पनि ठूला विकास हुन सक्ने र सो मोर्चामा देशलाई माया गर्ने सम्पूर्ण नेपाली अटाउने उल्लेख गर्नुभयो । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले विभिन्न राजनीतिक दल अहिले क्षेत्रीयता, साम्प्रदायिकतालाई आधार बनाएर राजनीति गरेका कारण राष्ट्रको अखण्डता, स्वाधीनतामा असर परेको बताउनुभयो । साहित्यकार दीर्घराज प्रसार्इं, प्रा. लालबाबु यादव तथा पत्रकार आदित्यमान श्रेष्ठलगायतले हिमालदेखि तराईसम्मका जनतालाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिँदै सदियाँैदेखि मिलेर बसेका नेपालीबीच सद्भाव कायम राख्नुपर्ने औँल्याउनुभयो ।