नेपाल भ्रमण सकाएर चिनियाँ विदेशमन्त्री ढाकातर्फ, के के भयो भ्रमणमा ?
चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक सद्भावना भ्रमण पूरा गरी ढाकातर्फ प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै भेटेर उहाँले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग अभिवृद्धिमा सहकार्य गर्दै अघिबढ्ने राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश प्रवाह गर्नुका नेपाल उच्च चीनको प्राथमिकतामा रहेको बताउनुभएको थियो । शुक्रबार आफ्ना समकक्षी महेन्द्रबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्तापछि ८० करोड चिनियाँ युआन अनुदान सहायता वृद्धिको घोषणा तथा नेपाल, भारत र चीनबीचको सहकार्यबाट दक्षिण एसियामा समृद्धि सुनिश्चित गर्न सकिने विचार व्यक्त गरेर उहाँले चिनियाँ विदेश नीतिको व्यापकता दर्शाउनुभएको थियो । निजामती अस्पताललाई चिकित्सकीय उपकरण हस्तान्तरण र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणको शिलान्यास गरेर चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिनुभएका चिनियाँ विदेश मन्त्रीको भ्रमणलाई सफल मानिएको छ । मन्त्री वाङलाई विमानस्थलको विशिष्ठ कक्षमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र चिनियाँ दूतावासका पदाधिकारीले बिदाई गर्नुभयो ।