वैद्य माओवादीबाट आन्दोलनको घोषणा, फागुन २१ गतेसम्म विविध कार्यक्रम


badalनेकपा–माओवादीले अधिकारसम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिकसभा गठनका लागि दबाब दिन यही पुस २४ देखि फागुन २१ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुस ११ देखि १४ गतेसम्म चलेको माओवादीको राष्ट्रिय भेलाका निर्णयबारे जानकारी दिन पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी महासचिव रामबहादुर थापाले प्रदर्शन, सभा, आमहड्ताललगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुभएको हो । भेलाले अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ । राष्ट्रिय भेलाले सो पार्टीबाट अलग हुनुभएका नेता नेत्रविक्रम चन्दलाई वाम रूपमा अभिव्यक्त दक्षिणपन्थी विचलन रहेको ठहर गर्दै चन्द समूहलाई कमीकमजोरी तथा विचलन सच्याई पुनः एकताबद्ध हुन ढोका खुलै राख्ने निर्णय गरेको जानकारी दिइयो । माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार, नयाँ जनवादलगायतका विचारधारात्मक तथा राजनीतिक विषयमा समान सोंच तथा धारणा राख्ने सच्चा क्रान्तिकारी कम्युनिस्टलाई गोलबन्द गरी क्रान्तिकारी कम्युनिस्ट केन्द्रको निर्माण गर्ने कुरामा भेलाले जोड दिएको महासचिव थापाले बताउनुभयो । राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाजस्ता विषय र अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठनको प्रस्तावसित सहमत हुन चाहने राजनीतिक शक्तिसँग संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने निर्णय भेलाले गरेको छ । भेलाले दोस्रो संविधानसभाको निर्वाचनको क्रममा ताप्लेजुङ, झापा, मोरङ, उदयपुर, बारा, मकवानपुर, चितवन, काठमाडौँ, कास्की, स्याङ्जा, जाजरकोट, मुगु, धनकुटा, बाग्लुङ, कैलालीलगायतका जिल्लामा माओवादी कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै वास्तविक सुकुम्वासीलाई प्रमाणपत्रसहितको निःशुल्क जग्गा दिनुपर्ने, अर्घाखाँची जिल्लाको चुनढुङ्गाको उत्खनन् कार्यक्रम बन्द गरिनुपर्नेलगायतका प्रस्ताव पारित गरेको छ । पाकिस्तानको एउटा विद्यालयमा धार्मिक अतिवादीहरूबाट गरिएको आक्रमणमा १४० जना विद्यार्थीसहित १५० जनाको हत्या गरिएकोमा भेलाले खेद प्रकटसमेत गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?