माधव नेपालको भनाई, सहमतिका लागि एमाले हदैसम्मको लचकता अपनाएको छ
एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्नैपर्ने बताउनुभएको छ । उहाँले संविधानसभामा संविधानको मसौदा ल्याएर झगडा मात्र हुने भएकाले अधिकतम् सहमतिका आधारमा संविधान ल्याउनुपर्ने धारणा राख्नुभएको छ । वीरगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधानका विवादित विषयमा सहमतिका लागि एमाले हदैसम्मको लचकता अपनाएको र सहमति हुन नसके प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधान ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले नेता एवम् युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले धर्ना, विरोध, हत्या, हिंसा र सडकबाट संविधान आउने भए एमाओवादीले पहिले नै संविधान घोषणा गरी सक्ने भएकाले, विधि प्रक्रिया र संविधानसभाबाटै संविधान आउने उहाँले दाबी गर्नुभयो । उहाँले एमाओवादी र मधेसवादी दललाई संविधान निर्माणसँग कुनै मतलब नभएको आरोप लगाउँदै सहमति पनि नगर्ने प्रक्रियामा पनि नजाने, एमाओवादीको प्रवृत्तिले मुलुकमा अन्योलको वातावरण सिर्जना गरेको आरोप लगाउनुभयो । मुलुक अब सहमतिको नाममा यथास्थित र सङ्क्रमणकालमा रहन नसकिने भएकाले प्रक्रियामा गएर भए पनि मुलुकलाई निकास दिनु दलहरुको जिम्मेवारी र दायित्व भएकाले काँग्रेस र एमालेले अधिकतम् सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने पक्षमा रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बारा–पर्साका कार्यकर्तालाई पार्टीका विभिन्न नेता तथा सभासद्ले वर्तमान राजनीतिकबारे जानकारी गराएका थिए ।