डरलाग्दो शहर बन्दै भारतको राजधानी, दिल्लीमा बलात्कारका घटना एक तिहाईले बढ्यो


Mumbai's skyline is seen April 9, 2008. REUTERS/Punit Paranjpe/Filesनयाँ दिल्लीमा गत वर्ष प्रहरीमा दर्ता भएका बलात्कारका घटना करिब एक तिहाइले वृद्धि भएको जानकारी प्रहरीले शुक्रबार दिएको छ र यसले भारतको राजधानीमा महिलामाथि यौनजन्य हिंसाको स्तर डरलाग्दो तरिकाले बढिरहेको देखाएको छ । दिल्ली प्रहरी आयुक्त भीमसेन बासीले डिसेम्बर १५ सम्मको १२ महिनामा बलात्कारका दुई हजार ६९ घटना दर्ता भएको जानकारी पत्रकारहरूलाई वार्षिक प्रगतिका विषयमा जानकारी दिँदै बताउनुभयो । अघिल्लो वर्ष सोही अवधिमा एक हजार ५७१ यस्ता घटना दर्ता भएका थिए । यसले यस्ता घटना ३१.६ प्रतिशतले बढेको देखाएको छ । दुई वर्ष अगाडि चिकित्साशास्त्रकी एक विद्यार्थीमाथि गुडिरहेको एक बसमा सामूहिक बलात्कार भएपछि उनको मृत्यु हुँदा यस नगरलाई बलात्कारको राजधानी भनिन थालिएको थियो । उक्त घटनाका कारण भारतभर आमप्रदर्शन भएका थिए भने त्यसका कारण अनेकौँ राजनीतिक तथा कानुनी सुधार भएका छन् । एक महिला यात्रुलाई गत महिना दिल्लीमा बलात्कार गरेको आरोप लागेका उबर ट्याक्सी चालकलाई दोस्रो पटक अदालतमा प्रस्तुत गर्दा उक्त तथ्याङ्क सार्वजनिक भएका हुन् । डिसेम्बर ५ मा भएको आक्रमणका आरोपमा ३२ वर्षीय शिव कुमार यादवलाई थप तीन दिनका लागि प्रहरीको हिरासतमा पठाइएको छ । प्रहरी आयुक्तले यी तथ्याङ्कले नगर महिलाका लागि बढी डरलाग्दो भएको सङ्केत नगर्ने तर यसले पीडितहरू अगाडि आउन बढी इच्छुक देखिएको सङ्केत गर्ने बताउनुभयो । उहाँले पत्रकारहरूलाई महिलाले प्रहरीसमक्ष आउन बढी सुरक्षित महसुस गरेकाले बढी घटना दर्ता हुन थालेको बताउनुभयो । उहाँले यस विषयमा प्रवृत्ति परिवर्तन गर्न तथा यौनजन्य अपराधका विषयमा संवेदनशीलता वृद्धि गर्न अझै निकै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले महिलाविरुद्ध अपराधका विषयमा प्रहरीलाई जानकारी दिन समाज तथा प्रहरीको मनोवृत्तिमा परिवर्तन हुनु आवश्यक भएको बताउनुभयो । बासीले नगरको प्रहरी कार्यालयमा महिला सहयोग डेस्कमा अन्य विषयमा ३६ हजार २८४ गुनासो दर्ता भएको बताउनुभयो । यस्ता डेक्स हालका वर्षमा स्थापना भएका हुन् । गत दुई वर्षमा बलात्कारका घटनालाई समाधान गर्ने विषयमा अधिकारीहरूलाई तालिम दिने कुरामा जोड बढेको छ र बढी महिलालाई प्रहरीमा भर्ना हुन आकर्षित गरिएको छ । बासीले नगर प्रहरीले महिलाविरुद्ध दर्ता भएका सबै अपराधमध्ये ६२ प्रतिशत समस्या एक साताभित्र समाधान गरेको बताउनुभयो । आयुक्तले महिलाविरुद्ध अपराधका घटनाका विषयमा आफूहरूले भिन्न पाइला लिइरहेको र त्यसमा महिलाका लागि आत्मसुरक्षाका तालिम कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?