प्रमुख दलको बैठक पुनः निष्कर्षविहीन, आज पनि बैठक बस्ने कार्यतालिका


??????????????????????????????????संविधानका विवादित विषयमा सहमति जुटाउने ध्येयका साथ आज बसेको प्रमुख चार राजनीतिक शक्तिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटामा बसेको बैठकमा सहमति खोज्ने प्रयास जारी रहे पनि कुनै पनि विषयमा ठोस सहमति नभएको हो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति जुटाउनका लागि दिनुभएको समयसीमा सोमबारै सकिए पनि दलहरूबीच कुनै पनि खालको सहमति हुन सकेको छैन । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले भने सहमतिको प्रयास जारी रहेको र मङ्गलबार पुनः छलफल जारी रहने प्रतिक्रिया दिनुभएको छ । प्रमुख चार राजनीतिक शक्तिको बैठक सकिए पनि सत्तारुढ नेपाली काँग्रेस र नेकपा(एमाले)को छलफल भने जारी रहेको छ । बैठकमा एमाओवादी र मधेसी मोर्चामा आबद्ध दलले सार्वजनिक गरेको अवधारणापत्र पेस गरेको थियो । संविधानको अन्तरवस्तुको रूपमा रहेको राज्यको पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल भए पनि कुनै पनि सहमति नभएको एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मङ्गलबार काँग्रेस र एमाओवादी तथा मधेसी मोर्चाका बीचमा छलफल हुने र दिउँसो पुनः चार पक्षको संयुक्त बैठक बस्ने जानकारी दिँदै आवश्यकताका आधारमा दुईपक्षीय तथा तीनपक्षीय छलफल पनि जारी रहने बताउनुभयो । सम्झौताको मिलनबिन्दु के हुन सक्छ भनेर आफूहरूले काँग्रेस र एमालेलाई प्रस्ताव गरेको भन्दै उहाँले सत्तारुढ दलले ल्याउने प्रस्तावका आधारमा थप छलफल हुने बताउनुभयो । काँग्रेस र एमालेले भने सहमतिको आधार आफूहरूको तर्फबाट पेस गर्ने वचन एमाओवादी र मधेसी मोर्चालाई दिएको बताइएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले भने सहमति हुने वा नहुने विषय काँग्रेस र एमालेको हातमा रहेको भन्दै मङ्गलबार सो विषयमा प्रष्ट हुने बताउनुभयो । छलफल जारी रहेका कारण अहिल्यै केही भन्न नसकिने उहाँको कथन थियो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने सामान्य छलफल भए पनि कुनै पनि ठोस सहमति नभएको जानकारी दिनुभयो । बैठकमा विशेष गरी राज्य पुनःसंरचनाको विषयमा छलफल केन्द्रित रहेको भए पनि पूर्वका झापा, मोरङ र सुनसरीलाई कुन प्रदेशमा राख्ने र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको सन्दर्भमा के गर्ने भन्ने विषयमा ठोस निर्णय नहुँदा विवाद जहाँको तहीँ रहेको हो । दलहरूले चितवनलाई भने राजधानी स्वशासित प्रदेशमा राख्ने अनौपचारिक सहमति गरेको जनाइएको छ । यसअघि प्रधानमन्त्री निवासमा प्रमुख तीन राजनीतिक दल काँग्रेस, एमाले र एमाओवादीको पनि छलफल भएको थियो । छलफलमा विवादित विषयलाई कसरी टुङ्गोमा पु¥याउनेमा केन्द्रित रहे पनि कुनै पनि सहमति हुन सकेन । सभाध्यक्ष नेम्वाङले सहमति जुटाउन प्रमुख दललाई सोमबारसम्म समयसीमा दिनु भए पनि कुनै पनि सहमति नभएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत कुनै निष्कर्ष निस्कन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?