एमाले र काँग्रेस एकमत भएर एमाओवादी नेतृत्वको मोर्चासँग वार्ता गर्ने


umlनेपाली काँग्रेस र नेकपा(एमाले)ले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि एकीकृत नेकपा(माओवादी) र मधेसी मोर्चासँग विकल्पसहित आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको दुई दलको बैठकले एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले पेस गरेको नौबुँदे प्रस्तावका विषयमा समान धारणा बनाएको र मङ्गलबारको बैठकमा पेस गर्ने भएका छन् । सत्तारुढ दलका तर्फबाट गत कात्तिकमा पेस भएको नौबुँदे प्रस्ताव र एमाओवादी नेतृत्वको मोर्चाले आज पेस गरेको नौबुँदे नै प्रस्तावका आधारमा समान धारणा खोज्ने प्रयत्न जारी रहेको जनाइएको छ । सत्तारुढ दलले दुइटै प्रस्तावका आधारमा सहमतिको बिन्दु खोज्ने र सकेसम्म मङ्गलबार एउटा निष्कर्षमा पुग्न प्रयत्न गरिने नेताहरूको भनाइ छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी नेतृत्वको मोर्चाले पेस गरेको प्रस्तावका विषयमा छलफल भएको र एक खालको सहमति भएको जानकारी दिनुभयो । उहाँले कस्तो सहमति भयो भन्नेबारे भने कुनै पनि जानकारी दिनुभएन । उहाँले भन्नुभयो ‘‘ सत्तारुढ दलका तर्फबाट गत कात्तिकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरिएको नौबुँदे प्रस्ताव र एमाओवादीका तर्फबाट सोमबार पेस भएको प्रस्तावमा आधारित भएर बीचको बाटो निकाल्ने प्रयास गरिएको छ ।’’ नेता पौडेलले आफूहरूले तयार पारेको प्रस्ताव आज बस्ने बैठकमा पेस गरिने जानकारी दिनुभयो । यस्तै एमालेका नेता माधवकुमार नेपालले छलफल सकारात्मक भएको जानकारी दिँदै मङ्गलबारसम्म केही न केही समाधान दिनैपर्ने बताउनुभयो । उहाँले सबैले मान्ने गरी आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्ने गरी छलफल केन्द्रित गरिएको र केही न केही समाधान निस्कने विश्वास व्यक्त गर्नुभयो । छलफलमा काँग्रेसबाट प्रधानमन्त्री एवं काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेता रमेश लेखक तथा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी तथा नेता नेपाल उपस्थित हुनुहुन्थ्यो । बैठकले काँग्रेस र एमाओवादी नेतृत्वको गठबन्धनको बैठकपछि पुन मङ्गलबार बिहान दुई दलको छलफल गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?