अख्तियारले दियो तेल चोरहरुलाई कारवाहीको निर्देशन
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको रूपन्देहीस्थित भलबारी डिपोमा भएको तेल चोरीमा सङ्लग्नलाई कानुनअनुसार कारबाही गर्न पुनः निर्देशन दिएको छ । आयोगले पेट्रोलियम पदार्थको चोरीमा सङ्लग्नलाई सामान्य कारबाही गरी छाड्न लागेको भन्ने जानकारी आएको थियो । निगम सञ्चालक समितिले यही पुस १३ गते तेल चोरीमा सङ्लग्नलाई तीन महिनाका लागि मात्रै ढुृवानी निलम्बन गर्ने भन्ने निर्णयसमेत कार्यान्वयन नगराउन आयोगले निर्देशन दिएको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो । आयोगले गत असोज १ गते दिएको निर्देशनबमोजिम कार्यकारी निर्देशकले गत मङ्सिर ४ गते तीन महिनाका लागि ढुवानी बन्द गर्ने र ८८ ट्यांकरधनीलाई तीन महिना ढुवानी निलम्बन गर्ने निर्णय गरेको थियो । तर पुस १३ गते निगमको सञ्चालक समितिले सो निर्णय उल्ट्याएको थियो । यसैगरी आयोगले आजै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुवेदीले पेस गरेको इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९९२ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको जनाएको छ । त्यस्तै सेवाग्राहीसँग घुस लिँदा लिँदै थलामा नै पक्राउ परेका नापी कार्यालय कलङ्की, सतुङ्गलस्थित २ नं टोलीका नापी सर्वेक्षक रामनारायण यादवविरुद्ध पनि आजै अदालतमा मुद्दा दायर गरिएको छ । यादवलाई सेवाग्राहीको जग्गा हाल साबिक गर्ने क्रममा रु १५ हजार घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । यादवले घुसबाट लिएको रु १० हजार नापी अधिकृत रामनरेश साहलाई दिएका थिए भने रु पाँच हजार आफैसँग राखेका थिए । आयोगले नापी अधिकृत साहविरुद्ध पनि मुद्दा दायर गरेको छ ।