जब भाउ घट्छ अनि सुरु हुन्छ पेट्रोलियम पदार्थको अभाव, माग अनुसार आपूर्ति नभएको पम्पवालाहरुको दाबी


crisisबजारमा पेट्रोलियम पदार्थकोे अभाव भएपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा सञ्चालित पेट्रोल पम्पको अनुगमनलाई प्रथमिकता दिएको छ । उपत्यकामा ११३ पेट्रोल पम्प सञ्चालनमा छन् । ती पम्पबाट दैनिक डिजेल र पेट्रोल गरी एक हजार १०० किलोलि बिक्री हुने गरेको छ । बजारको मागअनुसार पेट्रोलियम पदार्थ नपाएपछि बजारमा आभाव भएको पम्प सञ्चालकले जनाएका छन् । उता निगमले केही उद्योगी व्यवसायी एवम् होटेलले पेट्रोलियम पदार्थ भण्डारण गरेका कारण बजारमा अभाव देखिएको आशङ्का गरे पनि अनुगमनका क्रममा त्यस्तो नपाइएको विभागले जनाएको छ । बजार अनुगमनका क्रममा कुनै पनि पम्प तथा उद्योगीले पेट्रोलियम पदार्थको भण्डारण नगरेको विभागका बजार अनुगमन निर्देशक हरिनारायण बेल्वासेले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारमा पर्याप्त नभएकाले नै डिजेल र पेट्रोलको अभाव भएको हो, भण्डारणका कारण होइन ।” निगमले पेट्रोल पम्पलाई उपलब्ध गराएको डिजेल केही घन्टाभित्र नै सकिने गरेको छ । कुनै पेट्रोल पम्पले डिजेल मात्र बिक्री गरेका छन् भने कुनै कुनैले पम्पले मात्र पेट्रोल तथा डिजेल दुवै बिक्री गर्दै आएका छन् । डिजेल बजारमा नहुँदा साधारण उपभोक्ता मारमा परेका छन् । पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमले मागअनुसारकोे आपूर्ति नगरेको बताउनुभयो । “बजारमा आवश्यकताअनुसार पेट्रोलियम पदार्थ पाइएको छैन, त्यसले गर्दा उपभोक्ता मारमा परेका हुन्”, उहाँले भन्नुभयो“ उपभोक्ताले भण्डारण गरेको कुराको कुनै आधार छैन ।” निगमका अनुसार बजारमा ४५० किलोलि पेट्रोल र ५५० किलोलि डिजेल उपत्यकामा खपत हुँदै आएको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले ग्यासको आपूर्तिमा असहज भए पनि डिजेल र पेट्रोल पर्याप्त मात्रामा उपलब्ध गराएको जिकिर गर्नुभयो । उहाँले केही उद्योगी तथा होटेल व्यवसायीले यही पुसको अन्त्य तथा आगामी माघको सुरुमा बन्दहडताल गर्ने भन्ने हल्लाका कारण भण्डारण गरेको हुन सक्ने आशङ्का गर्नुभयो । निर्देशक वेल्वासेले ५० भन्दा बढी पेट्रोल पम्पमा गरिएको अनुगमनबाट कसैले पनि ठूलो परिमाणमा खरिद नगरेकाले भण्डारण गरेको भन्न नमिल्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?