सुनन्दा हत्याको छानबीनका लागि समिति गठन, विष खुवाईएको पुष्टि
भारतीय पूर्वमन्त्री शशी थरुरकी पत्नी सुनन्दा पुस्करको आत्महत्या नभई विष खुवाई हत्या भएको भन्दै भारतीय प्रहरीले त्यसको छानबीन गर्न समिति गठन गरेको छ । उहाँको मृत्युको बारेमा छानबीन जारी राखेको प्रहरीले मङ्गलबार मात्र सो तथ्य बाहिर ल्याएको थियो । गत जनवरी महिनामा नयाँ दिल्लीको एक पाँचतारे होटलमा उनको शव भेटिएको थियो । ५२ वर्षीया सुनन्दाको शव रहस्यमय रुपमा सो होटलमा भेटिएको थियो । पत्रकार सम्मेलनमा प्रहरी प्रमुख बासीले भने– हामीले छानबीन समिति गठन गरेका छौँ, सो समितिले थप तथ्य पत्ता लगाएपछि हामी जानकारी दिनेछौँ । सुनन्दाको परिवारले उनले आत्महत्या गरेको बताउँदै आएको थियो । उनको मृत्युको बारेमा अनुसन्धान जारी राखेको प्रहरीले मङ्गलबारमात्र उनको विष सेवन गराएर हत्या गरिएको तथ्य बाहिर ल्याएको थियो । त्यस पत्रकार सम्मेलनका क्रममा उहाँका पति एवम् भारतीय पूर्वमन्त्री थरुरलाई पनि प्रश्न गरिने छ वा छैन भन्ने पत्रकारको जिज्ञासामा दिल्ली प्रहरी प्रमुख बासीले स्पष्ट केही बताउनुभएन । उहाँले भन्नुभयो– त्यस्तो कुनै अवस्था आयोभने उहाँलाई पनि सोधपुछ त गर्नैपर्छ र आवश्यक प¥यो भने हामी गर्नेछौँ । सो हत्यामा कतिपयले उनकै पति थरुरको हात रहेको आरोप पनि लगाउने गरेका छन् । तर त्यसलाई थरुरले भने ठाडै अस्विकार गर्दै आएका छन् । यस विषयमा अहिलेसम्म उहाँमाथि प्रहरीले भने कुनै आरोप लगाएको छैन । उनको निधनपछि थरुरलाई कुनैपनि हिसाबले प्रहरीले मुछ्ने गरेको छैन । स्थानीय टेलिभिजनहरुले उनलाई खुवाइएको भनिएको विष कुन थियो र कसरी खुवाइएको थियो भन्ने बारेमा थप परीक्षण गर्नको लागि प्रहरीले उहाँको भिसेरा अमेरिका पठाउन लागेको जानकारी दिएका छन् । प्रहरीले पनि त्यस विषको बारेमा अध्ययन गर्न भिसेरा विदेश पठाउन सकिने बताएको छ । तर त्यस विषयमा प्रहरीको निर्णय भने बाहिर आएको छैन । दुबहीमा व्यापार गर्दै आएकी सुनन्दा र थरुरबीच सन् २०१० मा विवाह भएको थियो । पछिल्लो वर्षमा थरुरको एकजना पाकिस्तानी पत्रकारसँग सम्बन्ध रहेको भनी सुनन्दा र थरुरका बीचमा खटपट सुरु भएको बताइएको थियो । त्यसैले पनि कतिपय पक्षले उनको हत्यामा थरुरको हात रहेको बताएका थिए । तर त्यस बारेमा अहिले सम्म कुनैपनि सम्भावनाको स्रोत नमिलेको जानकारी प्रहरीले दिँदै आएको छ । तर प्रहरीले पनि सुरुमा उनको आत्महत्याबाटै मृत्यु भएको अनुमान गरेको थियो । तर पनि पछिल्लो अनुसन्धानबाट भने उनलाई विषय खुवाइएको तथ्य पत्ता लागेको जानकारी प्रहरीले अकस्मात बाहिर ल्याएको छ ।