सहमति नभए प्रक्रियाबाट संविधान आउने काँग्रेस नेता नेता शेरबहादुर देउवाको भनाई, माघ ८ मा संविधान निर्माण नहुने एमाले उपाध्यक्ष भीम रावलको दाबी
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले नेपाली¬–नेपालीबीच सद्भाव खल्बल्याउने र राष्ट्रियतामाथि खतरा पार्ने जातीय सङ्घीयतालाई स्वीकार गर्न नसकिने बताउनुभएको छ । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं १ द्वारा छतिवन गाविसको हात्तीसुडेमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले काँगे्रस र नेकपा ९एमाले०ले हदैसम्मको लचकता अपनाएर सहमतिको प्रयास गरेको यदि सहमति हुन नसकेको खण्डमा प्रक्रियाबाट माघ ८ गते संविधान जारी गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले अब नयाँ बन्ने संविधानमा दलित, मधेसी, आदिवासी, मुस्मिल समुदायको अधिकार सुनिश्चित हुनेतर्फ प्रमुख दलहरु सचेत रहेको बताउनुभयो । नेता देउवाले मुलुकमा सङ्कट पर्दा नेपाली काँग्रेसको नेतृत्वले निकास दिने गरेको उल्लेख गर्दै अब जनताका लागि आर्थिक आत्मनिर्भर हुने योजनालाई कार्यान्वयन गर्न नयाँ बन्ने सरकारले सुनिश्चित गर्नुपर्छ भन्नुभयो । सो अवसरमा नेपाली काँग्रेसको केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय र गगन थापाले मौजुदा संविधानसभा संविधान घोषणा गरी विघटन नहुने र सहमतिको प्रयासबाटै नयाँ संविधान ल्याउन सके दीर्घकालसम्म गृहयुद्धको खतराबाट बाहिर आउन सकिन्छ भन्नुभयो । सो अवसरमा सभासद् इन्द्रबहादुर बानियाँ, नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपाने र काँग्रेस नेता छत्र गिरीले एमाओवादीले आफनो हठ त्यागेर संविधान घोषणा गर्नेतर्फ लाग्नुपर्छ भन्नुभयो ।
यसैबीच, नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले प्रक्रियामा गएपनि माघ ८ मा संविधान निर्माण नहुने बताउनुभएको छ । प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले एमाओवादी र मधेसी मोर्चाका अर्कमण्यताले गर्दा सहमति बिथोलिँदै गएकाले अहिलेकै स्थितिमा संविधान बन्न नसक्ने बताउनुभयो । उहाँले अघिल्लो संविधानसभामा एमालेले आफ्ना सम्पूर्ण अडान छोड्दा पनि एमाओवादीले नमानेकोले संविधान बन्न नसेको आरोप लगाउँदै दोस्रो संविधानसभामा पनि एमाओवादी र मधेसी मोर्चाका कारण संविधानका विषयवस्तुमा सहमति हन नसक्दा संविधान नबन्ने आशङ्का उत्पन्न भएको छ भन्नुभयो ।