डा. बाबुराम भट्टराई छलफलमा व्यस्त, सहमति हुने दाबी
विवादित विषयमा सहमति जुटाउने अन्तिम जिम्मेवारी पाउनुभएका संवैधानिक–राजनीतिक तथा संवाद समितिका सभापति डा बाबुराम भट्टराई यतिबला शीर्ष नेताहरुसँग औपचारिक र अनौपचारिक बैठकहरुमा व्यस्त हुनुभएको छ । यस्ता छलफलहरु सकारात्मक बाटोतर्फ गएको उहाँले बताउनुभयो । भट्टराईलेले ठूला दलका शीर्ष नेताहरू जिम्मेवार भएर वार्तामा प्रस्तुत भएकाले केही दिनभित्र सहमति जुट्ने बताउनुभएको हो । विवादित विषयमा शुक्रबारदेखि नै शीर्ष दलका नेताहरूसँग छलफल सुरु गरेको भन्दै डा भट्टराईले शीर्ष नेता सकारात्मक तवरले छलफलमा प्रस्तुत भएकाले सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । गोरखाको मकैसिङस्थित बुटार र चितवनको दारेचोक जोड्ने पुलको आज शिलान्यास गर्दै डा भट्टराईले भन्नुभयो, “सहमति गरेरै अघि बढ्न सकियो भनेमात्रै माघ ८ मा संविधान जारी हुन्छ , असहमति भए हुँदैन”, भट्टराईले माघ ८ मा संविधान जारी गर्न सकिएन भने पनि जनताले क्षमा दिने भन्दै सहमतिका साथ दल अघि बढेर सहमतिको संविधान ल्याउनुपर्नेमा जोड दिनुभयो । सङ्घीयताको विषयमा दलहरू सहमतिको नजिक पुगेको भन्दै डा भट्टराईले शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत विषयमा भने असहमति रहेको उल्लेख गर्नुभयो । “सबैको सहमति जुटाएर राम्रो र हाम्रो संविधान बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।