तत्काल ‘हेलो सरकार’ गुनासो सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ मा ३४ हजार उजुरी एवम् गुनासो प्राप्त भएको जनाउँदै तीनलाई तत्काल सम्बोधन गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ । उक्त कार्यालयका सचिव शान्तराज सुवेदीले सहरी विकास मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, ऊर्जा मन्त्रालय र भूमि सुधार तथा व्यवस्था मन्त्रालयले ७५ प्रतिशतभन्दा कम गुनासा सम्बोधन गरेको पाइएकाले अब उपरान्त चाँडोभन्दा चाँडो गुनासो सम्बोधन गर्न निर्देशन दिनुभएको हो । सम्बन्धित निकायलाई आज उक्त निर्देशन दिँदै सचिव सुवेदीले हेलो सरकार स्थापना भएयता सबैभन्दा धेरै गुनासोहरु गृह, शिक्षा, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, वाणिज्य तथा आपूर्ति र श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायविरुद्ध उजुरी परेकाले तत्काल सम्बोधनका निम्ति क्रियाशील रहन कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।