२ सय जनालाई रिहा गरेमात्र तराई मुक्ति मोर्चाले हतियार बुझाउने
जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डा मनोज मुक्तिले बन्दी जीवन बिताइरहेका आफ्ना कार्यकर्तालाई रिहा गरेमात्र हतियार बुझाउने बताउनुभएको छ । उहाँले सरकारसँगको वार्ता सकारात्मक रहेको बताउनुभयो । अहिले करिब २०० जना मोर्चाका कार्यकर्ता जेलमा कैदी जीवन बिताइरहेको उहाँको दाबी छ । उहाँले कुनै भूमिगत समूहमा नलागेका करिब ३०० मधेसी युवालाई विभिन्न बहानामा राज्यले जेलमा हालेको र उहाँहरूलाई पनि रिहा गर्नुपर्ने माग गर्नुभयो । उहाँले संविधानसभामा रहेर पनि दलहरू अहिले बन्द हडताल जस्ता विरोधका कार्यक्रम घोषणा गरेकामा आपत्ति जनाउनुभयो । पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्यद्वय भास्कर मुक्ति र जयमुक्ति, पूर्वाञ्चल सेना कमान्डर सन्तोष मण्डललगायतको उपस्थिति रहेको थियो । यसैबीच, शान्ति प्रक्रियामा आएका मोर्चाले सङ्गठन निर्माण अभियान पनि थालेको छ । सिरहामा गोपीकृष्ण यादवको अध्यक्षतामा ११ सदस्य जिल्ला तदर्थ समितिसमेत चयन गरेको छ ।