विशाल र्यालीमा सहभागी बने विश्वका नेताहरु, पेरिसमा आतंकको विरोधमा ऐतिहासिक प्रदर्शन
फ्रान्सको राजधानीमा आतङ्कवादी आक्रमणका कारण १७ व्यक्तिको मृत्युभएपछि यस्तो घटनाप्रति चुनौती दिँदै ऐतिहासिक रूपमा एकता प्रदर्शन गर्न पेरिसमा आयोजित यात्रामा लाखौँ व्यक्तिका साथै विश्वका दर्जनौँ नेता भेला भएका छन् । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँका साथमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा प्यालेस्टाइनी नेता महमुद अब्बास यस व्यापक यात्राका अग्रभागमा अगाडि बढ्नुभयो । यो यात्रा बन्दुकधारीले १२ व्यक्तिको हत्या गरेको व्यङ्ग्यात्मक पत्रिका चार्ली हेब्दोको नजिकैबाट आरम्भ भएको थियो । पेरिसको यात्रामा फ्रान्सको राष्ट्रिय गीत पनि गाइएको थियो । यसबीच फ्रान्स तीन दिनसम्मको रक्तपातयुक्त हिंसाप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेको छ । भीडले धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र प्रकाशन गर्दा मारिएका व्यङ्ग्यचित्रकार तथा पत्रकारप्रति सम्मान व्यक्त गर्दै चार्ली चार्ली भनी नारा लगाएको थियो । यस यात्रामा जोर्डनका नरेश तथा रानीको उपस्थिति थियो भने जर्मन चान्सलर एङ्गेला मर्केल र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन पनि उपस्थित हुनुहुन्थ्यो । इटालीका प्रधानमन्त्री मेटेओ रेन्जीले युरोपले आतङ्कवादविरुद्ध चुनौतीमा विजय हासिल गर्ने बताउनुभयो । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उहाँका महान्यायाधीवक्ता एरिक होल्डरले प्रतिनिधित्व गर्नुभएको थियो । भारतमा एक समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री जोन केरीले आफूहरू फ्रान्सेली जनताका साथमा रहेको बताउनुभएको थियो । फ्रान्सेली राष्ट्रपति अलोँले आज पेरिस विश्वको राजधानी भएको र सम्पूर्ण मुलुक अगाडि बढ्ने बताउनुभयो ।