अध्यक्ष वैद्य र उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गर्नुभएको छ । माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा भएको भेटवार्तामा फेल्टम्यानले संविधान निर्माण प्रक्रियामा कसरी सहभागी हुनहुन्छ भन्ने प्रश्न अध्यक्ष वैद्यसँग गर्नुभएको थियो । संविधानसभा निर्वाचन नै बहिस्कार गरेका कारण राजनीतिक सभामार्फत आफ्नो पार्टी संविधान निर्माण प्रक्रियामा सहभागी हुन तयार रहेको भएपनि प्रमुख दल नै त्यसका लागि तयार नभएको बताउनुभएको माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । यसअघि बोलाइएको राजनीतिक सभालाई ‘एकदिने गोष्ठी’ बनाउन खोजिएको र संविधानको अन्तरवस्तुमा छलफल नै गर्न नचाहेका कारण आफ्नो पार्टी सहभागी नभएको अध्यक्ष वैद्यको भनाइ थियो । नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष वैद्यले आगामी दिनमा समेत सकारात्मक भूमिकाको अपेक्षा गरेको बताउनुभएको थियो । शान्ति प्रक्रियाको महत्वपूर्ण शक्तिको हैसियतले आफूहरूको सहभागिताबिना निर्माण हुने संविधानले सबैको धारणा समावेश गर्न नसक्ने भएकाले त्यसका लागि सकारात्मक भूमिका खेलिदिन अध्यक्ष वैद्यले उपमहासचिव फेल्टम्यानसँग आग्रह गर्नुभएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।