सिङ्गापुरको नौसेनाले एयरएसियाको दुर्घटनाग्रस्त जेट विमानको मुख्य भाग फेला पा¥यो, अझै शव भेटिने अनुमान
सिङ्गापुरका एक नौसैनिक जहाजले बुधबार जाभाको समुद्र क्षेत्रमा गत महिना दुर्घटनाग्रस्त एयरएसियाको विमानको मुख्य भाग फेला पारेको छ र यसै भागमा उक्त विमानमा रहेका १६२ यात्रुमध्ये धेरैको शव रहेको विश्वास गरिएको छ । क्युजेड८५०१ को उडानमा रहेको उक्त विमान डिसेम्बर २८ मा इन्डोनेसियाको सुराबाया नगरबाट सिङ्गापुरतर्फको छोटो तथा नियमित यात्रामा तुफानयुक्त मौसमका कारण दुर्घटनाग्रस्त भएको थियो । उक्त जहाजको खोजी कार्यलाई खराब मौसमले प्रभावित बनाइरहेको छ । यसै साता उक्त विमानको ब्ल्याक बक्स फेला पारिएको थियो र त्यसमा दुर्घटनाका कारणका महत्वपूर्ण सूचना रहेको विश्वास गरिएको छ । सिङ्गापुरको प्रतिरक्षामन्त्री एनजी एङ हेनले एमभी स्विफ्ट रेस्क्युले जाभाको समुद्र क्षेत्रमा एयरएसियाको विमानको मुख्य भाग फेला पारेको जानकारी दिनुभयो । उहाँले यस विषयमा इन्डोनेसियाको खोज तथा उद्धार अधिकारीलाई जानकारी दिइएको बताउनुभयो । इन्डोसियाको खोज तथा उद्धार प्रमुख बामबाङ सोएलिस्त्योले सिङ्गापुरको जहाजले उक्त विमानको मुख्य भाग फेला पारेको बताउनुभयो । उहाँले बिहीबार पौडीबाजहरू उक्त भग्नावशेषतर्फ जाने बताउनुभयो । उहाँले अबको उद्धारकार्यमा पीडितको शव ल्याउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले उक्त मुख्य भागको कुनै भाग वा त्यसको पूर्ण भाग माथि ल्याउने कार्य कठिन हुने बताउनुभयो । हालसम्म उक्त विमानका ४८ यात्रुको मात्र शव फेला पारिएको छ ।