यमनको कायदाले फ्रान्सको चार्ली हेब्दोमा आक्रमण गरेको दाबी
यमनको अल–कायदा समूहले अनलाइनमा भिडियो राखी फ्रान्सको चार्ली हेब्दोमाथि आक्रमण गरेको दाबी गरेको छ । यस समूहले फ्रान्सेली साप्ताहिक पत्रिकामा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र छापेका कारण बदला लिएको दाबी गरेको छ । यस समूहका एक नेता नासेर अल–आन्सीले ‘‘पेरिसमा भाग्यशाली युद्धका विषयमा सन्देश’’ शीर्षकमा उक्त भिडियो सार्वजनिक गरेका छन् र भिडियोमा अल–कायदा इन द अरेबियन पेनिनसुलाले अल्लाहको सन्देशवाहकका लागि बदलाको रूपमा यो कारवाही गरेको जिम्मेवारी दाबी गर्ने बताइएको छ । एक्युएपी सन् २००९ मा गठन भएको हो र यो अल–कायदाको यमनी तथा साउदी समूह मिलेर बनेको हो । वासिङटनले यसलाई विश्वव्यापी जिहादी सञ्जालको सबैभन्दा डरलाग्दो शाखाको रूपमा लिएको छ र यस समूहका नेतामाथि निरन्तर रूपमा चालिकविहीन विमानद्वारा आक्रमण गरिरहेको छ । आन्सीले उक्त आक्रमणका लागि सञ्जालका मुख्य नेता ऐमान जवाहिरीले आदेश दिएको बताएका छन् । आन्सीले एक्युएपीका नेताहरूले लक्ष्य छनौट गरेको, त्यसका षडयन्त्र तयार गरेको तथा त्यसका लागि कोष उपलब्ध गराएको बताएका छन् । नेताहरूले आक्रमणकारी छनौट गरेको र उनीहरूले पनि त्यसको जवाफ दिएको आन्सीले बताएका छन् । उक्त आक्रमणमा १२ व्यक्तिको हत्या भएको थियो भने आन्सीले मुजाहिद्दिनले आफ्ना पूजित धर्मगुरुको बदला लिएको र इस्लामी पवित्रतामाथि आक्रमण गर्ने प्रत्येक व्यक्तिलाई स्पष्ट सन्देश दिएको बताएका छन् ।