माघे संक्रान्ति पर्व देशभर घिउ चाकु र शहखर खाएर मनाइयो
माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डू र तरुल खाई मनाइयो । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । लड्डु तथा घिउ–चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हु’ भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भीड लाग्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी होइने उल्लेख छ । आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत पौष्टिक तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । यसै दिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ । थारू समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।