आतंकवादी क्रियाकलाप गरेकोमा पाकिस्तानमा १७ जनालाई मृत्युदण्ड


pakistanपाकिस्तानमा गत महिना मात्र ल्याइएको मृत्युदण्डको कानुनपछि महिना दिनभित्रै १७ जनालाई मृत्युदण्ड दिइएको अधिकारीहरूले बताएका छन् । प्राप्त पछिल्लो समाचारमा जनाइएअनुसार पाकिस्तानमा बिहीबार मात्र पनि एकजनालाई झुन्ड्याएर मारिएको छ । सो दण्डपछि त्यहाँ यस्तो कारबाही पाउने व्यक्तिको सङ्ख्या १७ पुगेको हो । यहाँ गत मङ्गलबार मात्र सातजनालाई मृत्युदण्ड दिइएको थियो । आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको मुद्दा खेपिरहेका ती सातजनालाई मङ्गलबार मृत्युदण्ड दिइएको बताइएको छ । बिहीबार यो झुन्ड्याएर मृत्युदण्ड दिइएका व्यक्ति पनि आतङ्ककारी क्रियाकलापमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेका अधिकारीले जनाएका छन् । योसहित पाकिस्तानमा गएको महिनादिनमा मात्र मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १७ पुगेको समाचारमा उल्लेख गरिएको छ । गएको डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा रहेको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिवानहरूले आक्रमण गरी १३४ जना साना बालबालिकासहित १५० जनाको हत्या गरेको घटनापछि त्यहाँको सरकारले मृत्युदण्डसम्बन्धी कानुन पुनः ल्याइएको हो । पाकिस्तानमा गएको छ वर्षदेखि प्रतिबन्ध लगाइएको मृत्युदण्डको कानुन गत महिनादेखि पुनः पाकिस्तानी प्रधानमन्त्री शरिफले खुला गर्नुभएको बताइएको हो । विद्यालयमा अध्ययनरत बालबालिकामाथि नै यो जघन्य अपराध गरेपछि पाकिस्तान सरकारले यस्ता आतङ्कवादी क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने गरी कानुनमा संशोधन गरेको हो । पाकिस्तानमा प्रतिबन्धित एक आतङ्कवादी सङ्गठन लस्कार एक जाङ्भीसँग आवद्ध मोहम्मद सइदलाई बिहीबार पाकिस्तानको कराचीमा रहेको केन्द्रीय जेलमा झुन्ड्याएर मारिएको नाम नबताउने सर्तमा एकजना अधिकारीले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?