प्रक्रियामार्फत संविधान निर्माण अघि बढाउने काँग्रेसको निर्णय, ९ बुँदे प्रस्तावलाई लचिलो बनाइने


?????????????????????????????????????????????????सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रक्रियामार्फत संविधान निर्माण अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा काँग्रेस, नेकपा(एमाले)लगायत दलले पेस गरेको नौबुँदे प्रस्तावलाई लचिलो भएर संविधानसभामा पेस गरी त्यहाँबाट पारित गरेर मस्यौदा समितिमा लैजाने निर्णय गरेको हो । काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले संसदीय दलले बुधबार गरेको निर्णयमा पूर्णप्रतिबद्धता जनाउँदै संविधानसभामा प्रक्रियामार्फत संविधान निर्माण अघि बढाइने निर्णय भएको जानकारी दिनुभयो । काँग्रेस संसदीय दलको बुधबारको बैठकले अन्तरिम संविधान र संविधानसभा नियमावलीअनुरुप प्रक्रियालाई अघि बढाउने कामसँगै दलसँगको छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभासद् रामचन्द्र पोखरेलले प्रक्रियामार्फत संविधान जारी गर्न सबैको एक विचार आएको बताउनुभयो । रासससँग कुरा गर्दै पोखरेलले भन्नुभयो “प्रक्रियामार्फत गएर भए पनि माघ ८ भित्र नेपाली जनतालाई आश्वासन तुल्याउने कुनै न कुनै दस्तावेज ल्याउनुपर्छ, यसले गर्दा संविधान बन्छ भन्ने विश्वास जनतामा जान्छ, सकेसम्म पूर्ण संविधान नभए पनि जनतालाई आश्वस्त दिने किसिमको एउटा विश्वसनीय दस्तावेज जनतामाझ जानुपर्छ भन्ने धेरैको विचार आएको छ ।” बैठकमा काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइराला कार्यव्यस्तताका कारण उपस्थित नभएपछि उपसभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा नेता शेरबहादुर देउवा, केबी गुरुङलगायतले सहमतिका नाममा जनतालाई अलमल्याउने काम गर्न नहुने भन्दै प्रक्रियाबाटै गएर निर्धारित समयमै संविधान जारी गर्नुपर्ने धारणा राखेको सभासद् पोखरेलले बताउनुभयो । यसैबीच, आजको संविधानसभा बैठकमा आफू कसरी प्रस्तुत हुने भन्ने तयारी गरेको काँग्रेस संसदीय दलको बैठकले आफ्ना सबै सभासद्लाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । बुधबारको बैठकले संविधान निर्माण गर्ने उद्देश्यले हालसम्म भएका संविधानका अन्तर्वस्तुका बारेमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत प्रस्तुत प्रस्तावमा संविधानसभाको अब बस्ने बैठकले निर्णय गरी मस्यौदा समितिमा पठाउन सुझाव दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?