फ्रान्सको पत्रिकाले मोहम्मदको फोटो छापेर गल्ती गरेको अफगानी राष्ट्रपतिको ठहर
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले फ्रान्सको चार्ली हेब्डो पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन छापेको विषयले इस्लाम धर्मको अपमान गरेको बताउनुभएको छ । उहाँले उक्त पत्रिकाको सो निर्णय गलत भएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ– संसारभरका इस्लामहरुको अपमान भएको छ, उक्त पत्रिकाको सो निर्णय गलत थियो । उहाँले प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो भनाई राखिएको छ । दोस्रो पटक पनि सो पत्रिकाले मोहम्मदको कार्टुन छापेकोले विश्वका विभिन्न देशका मुस्लिम नागरिकले सो घटनाको विरोध गरेका छन् । पत्रिकाको कार्यलाई गैरजिम्मेवारको संज्ञा दिँदै उहाँले प्रकाशन गर्नुभएको विज्ञप्तिमा सम्पूर्ण अफगान नागरिकका तर्फबाट सो कार्टुनको निन्दा गरिएको बताइएको छ । साथै उहाँले सो विज्ञप्तिमा उक्त पत्रिकामा भएको रक्तपातको पनि निन्दा गर्नुभएको छ । उहाँले सो पत्रिकामा हमला गरी पत्रकारको हत्या गर्ने कार्यलाई अमानवीय भनी टिप्पणी गर्नुभएको छ । सो पत्रिकामा गत जनवरी ७ मा आक्रमण गरी इस्लामिक अतिवादीले सो पत्रिकाका सम्पादकसहित १२ जनाको हत्या गरेको थियो । पछि ती हमलाकारी मारिएका छन् । उक्त पत्रिकाको गत बुधबारको अङ्कमा पनि मोहम्मदले आँशु बगाएको कार्टुन छापिएको थियो । सो घटनाको विश्वका मुस्लिमले विरोध गरिरहेका छन् ।