कार्टुनले विभाजित बनाएको विश्व, प्रधान सम्पादक भन्छन् धार्मिक स्वतन्त्रताको सम्मान
फ्रान्सको चार्ली हेब्डो पत्रिकाका प्रधानसम्पादकले हालै छापिएको कार्टुनबाट कसैको मानहानी भएको नभई धार्मिक स्वतन्त्रताको रक्षा गरेको बताउनुभएको छ । सो पत्रिकाका प्रधानसम्पादकले शनिबारको एक अन्तरवार्तामा भन्नुभएको छ– उक्त कार्टुनले कसैको पनि अपमान गरेको छैन, बरु सबै धर्मको धार्मिक स्वतन्त्रताको रक्षा गरेको छ । गतहप्ता सो पत्रिकामा प्रकाशित कार्टुनपछि विश्वका विभिन्न मुस्लिम मुलुकमा यसको विरोध जारी रहेको छ । उनीहरुले सो पत्रिकाको कार्टुनको निन्दा गरेका छन् । सोही कारण निस्किएको जुलुशका कारण नाइजरमा पाँच जनाको ज्यान गएको थियो भने चर्चमा पनि आगो लगाइएको थियो । यही जनवरी ७ मा पेरिसमा सो पत्रिकाको कार्यालयमा नै हमला गरी प्रधानसम्पादकसहित १२ जनाको हत्या गरिएको थियो । सो घटनाको विश्वव्यापी रुपमा निन्दा गरिएको थियो । उक्त हत्यापछि प्रकाशित सोही पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन छापेको थियो । सो कार्टुनमा मोहम्मद रोएको देखाइएको थियो । सो कार्टुनको विश्वका मुस्लिमहरुले विरोध गरिरेहका छन् । उनीहरुले उक्त पत्रिकाले बारम्बार मोहम्मदको अपमान गर्ने गरेको दाबीगर्दै त्यसका विरुद्ध विभिन्न देशमा विरोध कार्यक्रम पनि गरिरहेका छन् । यता विश्वका मुस्लिम देशहरुमा यो अवस्था छ भने अर्काेतर्फ युरोपेली देशमा भने सुरक्षाको कडा प्रबन्ध गरिएको छ । इस्लामिकहरुको आक्रमण हुनसक्ने आशङ्कामा युरोपका देशहरुमा कडा सुरक्षा व्यवस्था अपनाइएको बताइएको छ । सो पत्रिकाका प्रधानसम्पादक गेरार्ड बियार्डले शनिबार एनबिसीको मिट दि प्रेस कार्यक्रममा भन्नुभयो– प्रत्येक पटक हामीले मोहम्मदको कार्टुन प्रकाशन गरेका छौं, हरेक पकट हामीले भगवानको कार्टुन बनाएका छौं तर सबै धर्मको धार्मिक स्वतन्त्रताको रक्षा गरेका छौँ । सो पत्रिकामा भएको हिंसात्मक कारबाहीपछि उहाँले यो प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो– हामीलाई लाग्छ भगवान भनेका राजनीतिक व्यक्तित्व नभई व्यक्तिगत आश्थाको प्रतिक भएकोले हामीले कसैमाथि पनि मानहानी गर्ने नियत राख्दैनौँ । धर्मलाई राजनीतिक विषय बनाइनु हुँदैन भनेर नै हामीले धार्मिक स्वतन्त्रताको पक्षमा राख्ने गर्छौं भन्दै प्रधानसम्पादक गियार्डले भन्नुभयो– पत्रिका भनेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रा हो र त्यसले धार्मिक स्वतन्त्रताको पनि सम्मान गर्नुपर्छ भन्ने कुरा हामीलाई राम्रैसँग थाहा छ । उहाँले धर्मका नाममा कुनैपनि व्यक्तिको हत्या गर्नु तथा धार्मिक विषयलाई राजनीतिक रुपमा दुरुपयोग गरिनु कत्तिको उचित हो भन्दै अफ्नो धर्मको अपमान भयो भन्ने व्यक्तिले अर्काको धर्मको पनि सम्मान गर्नुपर्नेमा सो अन्तरवार्तामा जोड दिनुभएको छ ।