पर्यटकीय नगरी पोखरामा व्यवसायी उत्रिए सडकमा, बन्द सदाका लागि बन्द गर्न माग
‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने आह्वान गर्दै पोखरामा शान्ति ¥याली निकालियो । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्था, आमा समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएको ¥यालीले पोखराका मुख्य नगरक्षेत्र महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, नयाँसडक र पृथ्वीचोकको परिक्रमा गरेको थियो । हजारौँको सङ्ख्यामा रहेका ¥यालीका सहभागीले ‘बन्द सधैँका लागि बन्द गरौँ’, ‘बन्दको विकल्प खोजौँ’, ‘समयमै संविधान जारी गरौँ’, ‘पर्यटकीय क्षेत्रमा बन्द र हडताल नगरौँ’, ‘गरिखान देऊ’ जस्ता प्लेकार्ड बोकेका थिए । ¥याली पोखराको चिप्लेढुङ्गामा रहेको मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नेले बन्द र हडतालका कार्यक्रम फिर्ता लिन, पर्यटन उद्योगलाई बन्दको मारमा नपार्न र देशको हितलाई केन्द्रमा राखेर काम गर्न राजनीतिक दललाई आग्रह गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बन्द र हडतालले देशको अर्थतन्त्र तहसनहस भएको र गरिखाने वर्गलाई हातमुख जोर्न पनि समस्या पारेको उल्लेख गर्दै बन्द र हडतालको विकल्प खोज्न सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले विभिन्न राजनीतिक दल र समूहबाट आह्वान भएका बन्द र हडतालका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै आफ्नो मागको सुनुवाइ नभए बन्दविरुद्ध अझ सशक्त कार्यक्रम ल्याउने जानकारी दिनुभयो । बन्द सधैँका लागि अन्त्य गर्न माग गर्दैै यहाँका व्यवसायी तथा नागरिक समाजका तर्फबाट कास्कीमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाइनेसमेत उहाँले जानकारी दिनुभयो । रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बन्दले नेपालको पर्यटन उद्योग चौपट बनाएको बताउँदै बन्दकै कारण धेरै पर्यटकले नेपाल भ्रमण तालिका बदलिदिँदा समस्या उत्पन्न भएको बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरीले बन्दको विकल्प खोजी वार्ता र संवादमार्फत माग पूरा गराउनेतर्फ लाग्न राजनीतिक दललाई सुझाव दिनुभयो । यातायात व्यवसायी गोकर्ण कार्कीले जनताको नाममा जनतालाई नै दुःख दिने बन्द र हडतालविरुद्ध आम नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बन्द आह्वानकर्तालाई जनचाहना बुझी जनतालाई दुःख दिने काम बन्द गर्न आग्रह गर्नुभयो ।