जाम्बियामा आज राष्ट्रपतीय निर्वाचन हुँदै, एघार जना उम्मेद्वार मैदानमा
जाम्बियामा आज राष्ट्रपति निर्वाचन हुँदैछ । लामो समयसम्म थलापर्नु भएका राष्ट्रपति माइकल साटाको गत अक्टोबरमा मृत्यु भएपछि राष्ट्रपति पदपूर्ति गर्न निर्वाचन हुन लागेको हो । कच्चा तामा धातु उत्पादन र प्रशोधनमा नाम कमाएको दक्षिण अफ्रिकी राष्ट्र जाम्बियामा राष्ट्रपति साटाको मृत्युपछि कार्यवाहक राष्ट्रपतिको रूपमा गाय स्कटले पदभार सम्हाल्दै आउनुभएको छ । वर्तमान राष्ट्रपति स्कट काला मूलका नभई स्कटल्यान्ड मूलका गोरा जाम्बियाली हुनुहुन्छ । राष्ट्रपति पदका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, तर स्कटले भने उम्मेदवारी दिनुभएको छैन । बहुसङ्ख्यामा उम्मेदवार भए पनि मुख्य दुई जनाबीच कडा प्रतिस्पर्धा हने बताइएको छ । सत्तारुढ प्याट्रियोटिक फ्रन्ट पार्टीका एडगर लुङ्गु र विपक्षी दल युनाइटेड पार्टी फर नेसनल डेभलप्मेन्टका प्रमुख हकाइन्डो हिचिलेमाबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जाम्बियाको न्याय तथा प्रतिरक्षा मन्त्रालयसमेत दुई मन्त्रालयको पदभार सम्हाल्नुभएका लुङ्गुले पूर्वराष्ट्रपति साटाको पदचिह्न अनुसरण गर्ने उहाँले प्रतिपादन गर्नुभएको आर्थिक विकासका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यता अर्का उम्मेदवार हिचिलेमा पनि कम हुनुहुन्न । प्रख्यात अर्थशास्त्रीका रूपमा परिचित आफूसँग जाम्बियाको अर्थतन्त्रलाई समूलरूपमा उकालो लगाउने अनुभव रहेको दाबी गर्नुहुन्छ ।