आइएस विरोधी गठबन्धन देशका विदेशमन्त्रीहरू लन्डनमा, आतङ्कवादका विरुद्ध साझा रणनीति तय गरिने


g8केही समययता देखि आतङ्कवादी सङ्गठनका रुपमा विश्वका केही देशमा त्रास फैलाइरहेको इस्लामिक स्टेट (आइएस)का विरुद्धमा लड्न गठन भएको आइएस विरोधी राष्ट्रहरूको विदेशमन्त्रीहरूको बैठक बेलायतको लन्डनमा बस्दैछ । सो बैठकको नेतृत्व अमेरिकी विदेशमन्त्री जोन केरीले गर्नुहुने समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री केरी सो प्रयोजनका लागि लन्डन प्रस्थान गरिसक्नुभएको छ । अधिकांश देशका विदेशमन्त्रीहरू त्यहाँ पुगिसक्नुभएको बताइएको छ । उहाँहरूले पछिल्लो समयमा युरोपमा समेत आतङ्क मच्चाइरहेको सो सङ्गठनलाई निस्तेज पार्नका लागि आवश्यक पर्ने रणनीतिका बारेमा कुराकानी गर्ने समाचारमा उल्लेख छ ।सो बैठकमा अमेरिकी विदेशमन्त्री केरी र बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले सो विषयमा आवश्यक समन्वय गर्नुभएको छ । उक्त बैठकमा विश्वका विभिन्न करिब २१ देशका विदेशमन्त्रीको सहभागिता रहने बताइएको छ । बिहीबार सो बैठक लन्डनमा सुरु हँुदैछ । ती देश हालै मात्र सिरिया र इराकमा आइएसका विरुद्धमा जारी रहेको हवाई तथा स्थलगत कारबाहीका लागि एकसाथ काम गरिरहेका छन् । इराक र सिरियामा आइएसका विरुद्धमा लड्नका लगि अमेरिकी र युरापेली केही देशले संयुक्त रूपमा सेना पठाएका छन् । त्यहाँ दुई महिनायता देखि सो कारबाही जारी रहेको छ ।  यसै महिनाको सुरुतिर फ्रान्सको राजधानी पेरिसमा आतङ्ककारी हमलामा परी १७ जनाको ज्यान गएपछि यसरी पहिलोपटक अमेरिकी नेतृत्वमा आइएसका विरुद्धमा यो बैठक हुन लागेको छ । आइएसका विरुद्धमा लड्नका लागि संयुक्त सैनिक कारबाहीका साथै अन्य कानुनी सुधारका कार्यक्रम र गुप्तचर निकायको सूचनाको पनि आवश्यकता बमोजिम समन्वयात्मक रूपमा आदानप्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । सो बैठकको एक आयोजक रहनुभएका बेलायती विदेशमन्त्री फिलिप्सले आतङ्कवादीहरूले युरोप र अमेरिकालाई यतिखेर एकै ठाउँमा जम्मा पारिदिएकाले सबैले मिलेर त्यसको प्रतिवाद गर्ने बताउनुभएको छ । फ्रान्स र युरोपेली देशहरूले आतङ्कवादका विरुद्धमा लड्न संयुक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । युरोपेली देशहरूमा पनि आतङ्कवादका विरुद्धमा लड्ने विभिन्न उपायको खोजी गरिँदैछ । त्यसैगरी युरोपका अन्य देशहरूमा पनि आक्रमणको त्रासले कडा सुरक्षा व्यवस्था अपनाइएको छ । गएको हप्ता युरोपका अधिकांश देशमा यसका विरुद्ध लड्ने उपाहरूको खोजी भइरहेको छ । पछिल्लो समयमा आइएसका क्रियाकलापहरू विश्वका कयौँ देशमा प्रभाव बढाउँदै गएको अनुमानका आधारमा युरोपले साझा मापदण्डका साथै सुरक्षाका पनि साझा अवधारणा अपनाउने अनुमान गरिएको छ । युरोपका २८ सदस्यीय राष्ट्रको संयुक्त सङ्गठनका रूपमा रहेको युरोपेली परिषद्का आयुक्तहरूको बेल्जियमको ब्रसेल्समा आयोजना गरिएको संयुक्त बैठकले बुधबार त्यस विषयमा आवश्यक मात्रामा छलफल गरेको हो । अमेरिका र बेलायतले पनि आइएसको आतङ्कका विरुद्धमा के कसरी एक भएर लड्ने भन्ने बारेमा संयुक्त रणनीति बनाएका छन् । उनीहरूले समन्वयात्मक रूपमा अघि बढ्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि आतङ्कको नयाँ रुपका विरुद्ध लड्न सबै देशले सामूहिक प्रयासका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले गत मङ्गलबार सो विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?