सिन्धुपाल्चोकका पहिरो पीडितका लागि सरकारले घर बनाइदिँदै, जग्गाको खोजी सुरु
सिन्धुपाल्चोक जिल्लामा जुरे पहिरोबाट घरबारविहीन भएकालाई पुनर्वासका लागि सहरी विकास मन्त्रालयले काम सुरु गरेको छ । बाढी पहिरोबाट विस्थापित भएकाहरूको आवासका लागि पीडितका नाममा कतै जग्गा भए त्यही जग्गामा नै घर निर्माणको नयाँ योजनासमेत मन्त्रालयले अघि सारेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । “सहरी विकास मन्त्रालयले विस्थापितहरूका लागि नयाँ आवास नीति ल्याएको छ, अब यो कार्यान्वनको चरणमा छ”, पराजुलीले भन्नुभयो– पीडित परिवारका नाममा कतै जग्गा नभएमा मात्रै उपयुक्त जग्गा हेरेर आवासको कार्यक्रम सञ्चालन गरिने भएको छ । पीडितहरूको आवासका लागि उनीहरूको आफ्नो स्वामित्वमा कुनै जग्गा भएमा ती परिवारका लागि आवास निर्माण गर्न, तिनको जग्गाको विवरण सम्बन्धित दैवी प्रकोप समितिले सहरी विकास तथा भवन निर्माण विभागमा पठाउन पनि मन्त्रालयले निर्देशन गरेको छ । पीडित परिवारको आफ्नो स्वामित्वमा उपयुक्त जग्गा नभएको अवस्थामा पीडित परिवारको पुनःस्थापना गराउनका लागि आवश्यक पर्ने जग्गा खोज्न पनि मन्त्रालयले निर्देशन गरेको छ । जग्गा खोज्दा सरकारी वा व्यक्तिगत जग्गाको पहिचान गरी त्यसको विवरण जिल्ला दैवी प्रकोप समितिले मन्त्रालयलाई बुझाउनुपर्ने छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले जग्गाको पहिचान गरी मन्त्रालयमा पठाएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले छिटो जग्गा खरिद गरेर विस्थापितहरूलाई पुनर्वास गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।