बिज बास्केटबल प्रतियोगिताको उपाधि क्लब काठमाण्डूको हातमा, बिज बजर्स फाईनलमा पराजित
माछापुच्छ्रे क्लबको आयोजनामा भएको बिज बास्केटबल प्रतियोगिताको उपाधि क्लब काठमाण्डूले हात पार्न सफल भएको छ । प्रतिस्पर्धात्मक खेलमा बिज बजर्सलाई पराजित गर्दै उसले उपाधिमाथि कब्जा जमाएको हो । यससँगै उसले १५ सय अष्ट्रेलियन डलर पनि पुरस्कारस्वरुप प्राप्त गरेको छ । यसैगरी दोश्रो हुने बिज बजर्सले ७ सय डलर पुरस्कार पाएको छ । माछापुच्छ्रे क्लबका सुमितमान श्रेष्ठका अनुसार प्रतियोगितामा लिगतर्फ मष्ट भ्यालुएवल प्लेयर दिनेश थापामगर घोषित भए यस्तै फाईनल खेलका मष्ट भ्यालुएवल प्लेयर सजल शाही बनेका छन् । बेष्ट डिफेन्डर राज गर्बुजा, सर्वाधिक स्कोरर किशोर लिम्बु, बेष्ट प्वाईन्ट गार्ड कृष्ण गुरुंग, बेष्ट रिबाउन्डर दिपेन्द्र गौचन, ईमर्जिंग प्लेयर अभिनभ दवाः, टिम फेयर प्ले ओसियाना रेन्जर्स भएका छन् । सबैलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको पुरस्कार वितरणका क्रममा बोल्दै एनआरएन ओसियाना क्षेत्रीय संयोजक विष्णु हमालले अर्को पटकदेखि ईन्टरस्टेट स्पोर्टसमा बास्केटबललाई पनि समावेश गरिने बताउनुभयो । उहाँले भन्नुभयो, प्रतियोगितामा देखिएको उत्साहले हामीलाई ऊर्जा थपेको छ, यस पटक क्रिकेट थप्यौं, अर्को पटकदेखि बास्केटबलाई पनि समावेश गर्नेछौं । यसैगरी कार्यक्रममा बोल्दै नायाका अध्यक्ष कोमलराज पाठकले युवाहरुलाई विभिन्न विकृतिहरुबाट जोगाउन खेल अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । यस क्रममा सहकार्य गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं परफर्मेन्स एजुकेशनका बिरेन्डन सियाउले आपूmहरु नेपाली समूदायको खेल गतिविधिमा सहयोग गर्न पाएकोमा खुशी भएको बताउनुभयो । आगामी दिनमा पनि यस प्रतियोगितालाई निरन्तरता दिन सहकार्य गर्ने उहाँको भनाई थियो । यस्तै बिज एजुकेशन अष्ट्रेलियाका कृतु केसीले पनि प्रतियोगिताले सबैलाई समेट्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । माछापुच्छ्रे क्लबका अध्यक्ष निरज श्रेष्ठले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।