१८ वर्षअघि रिक्सा चलाउने नेपालकै पहिलो रिक्सा चालक महिला फुलमाया धिमाल फेरि त्यही पेशामा
विसं २०५३ फागुन २ गते विर्तामोडमा एउटा खबरले सनसनी मच्चायो । रिक्सा कुदाउँदै एउटी महिला सडकमा आई भनेर । हेर्नेको रमिता लागेको थियो । यो खबर भोलिपल्टका अखबारमा पनि छापिए । रिक्सा कुदाउने ती महिला चारपानेकी फुलमाया धिमाल हुन् भनेर दुनियाँले चिन्यो । साहसी भनेर चिनिएकी तिनै फुलमाया विगत पाँच÷छ वर्षदेखि विर्तामोडमा कतै देखिएकी थिइनन् । उनी सडकमा रिक्सा गुडाउँदै आउँदा तातो खबर बनाउने सञ्चारमाध्यमले यो बितेको छ वर्ष फुलमाया कता गइन् भनेर खोज खबर पनि गरेनन् । तर उनी यही साता फेरि रिक्सा लिएर विर्तामोडमा झुल्किएकी छन् । “यति धेरै दिन कहाँ गएकी थियौँ ?” चिन्ने जान्नेहरूले गर्ने यस्तै मायालु प्रश्नको जवाफ दिँदै उनी विर्तामोडमा अहिले रिक्सा गुडाउँदै यात्रुलाई गन्तव्यमा पु¥याउन थालेकी छन् । अलि ठट्यौलो भाषामा जवाफ दिन रुचाउने उनी कसैकसैलाई भन्छिन्, “फुलमाया नहुँदा विर्तामोड ठप्प त भएन होला नि !” फुलमाया धिमाल नेपालकै प्रथम महिला रिक्सा चालक हुन् । उनले १८ वर्षअघि विर्तामोडमा रिक्सा चलाउँदा विर्तामोडबाट शनिश्चरे पु¥याएको भाडा ५० पैसा थियो । मुक्ति चोकबाट विर्ताबजार पु¥याएको भाडा चार आना लाग्थ्यो । जीवन निर्वाहका लागि अनेक दुःख भोगेकी उनी रिक्सा कुदाउन थालेपछि भने मुलुककै चर्चित नारी बन्न पुगिन् । फुलमायाले फेरि रिक्सा कुदाउन थालेको सुनेपछि राससकर्मीले विर्तामोडमा उनलाई धुइँधुइँती खोज्यो । तीनजना बलिया मानिसलाई सिटमा बसाएर मुक्ति चोकबाट महानन्द चोकतिर जाँदै गर्दा उनी भेटिइन् । चाउरी परेको अनुहार उस्तै थियो । अलिक बुढ्यौलीले छोइसकेछ, दाँत फुक्लिन थालेका रहेछन् । पुरानो जम्पर ज्याकेट, पातलो लुङ्गी र फ्याट्फ्याटे चप्पलमा भेटिएकी फुलमायाको अनुहार माघको दिनमा समेत पसिनाले निथ्रुक्क थियो । बुढेसकालमा रिक्सा तान्न सजिलो छैन भन्ने उनकै अनुहारबाट चुहिएको पसिनाले बताउँथ्यो । उनलाई पछ्याउँदै यो पङ्क्तिकार शनि अर्जुन नगरपालिका वडा नं ५ स्थित एक झुपडीमा पुग्यो । जहाँ फुलमायाको डेरा रहेछ । मन्जुर मियाको झुपडीको एक पाखोलाई फुलमायाको परिवारले मासिक रु ६०० तिरेर डेरा बनाएको रहेछ । डेरामा फुलमायासँगै उनको छोरो अमरबहादुर धिमाल र चारजना नातिनातिना बस्छन् । “भट्भटेको ठक्करले करङ भाँचिएपछि कुदाउन छाडेँ,” लामो समयको अन्तरालपछि फेरि रिक्सा कुदाउन थालेको बताउँदै उनले रासससँग भनिन्, “अहिले फेरि बाध्यताले कुदाउनुप¥यो ।” उनका अनुसार छ वर्षअघि फागु पूर्णिमाका दिन विर्तामोडको पश्चिम बस स्टेन्ड नजिकै राजमार्गमा भाङ खाएर मातिएका युवाले चलाएको मोटरसाइकल हुइँकिएर उनको रिक्सामा बज्रियो । दुर्घटनामा उनको छातिको एउटा करङ भाँचिएको थियो भने हात र खुट्टामा गम्भीर चोट लागेको थियो । चार महिना भारतको कदमतोला मेडिकल कलेजमा उपचार गरेपछि उनी निको त भइन्, तर रिक्सा कुदाउन नसक्ने गरी । “अहिलेसम्म दाहिने हात चल्दैन,” दुर्घटनामा घाइते भएपछिको पीडा सुनाउँदै उनी भन्छिन् – “धन्न बाँचे छु, मान्छेहरू विचरी फुलमाया मर्ने भई भन्थे ।” उनी अहिले पनि एक हातको आडमा रिक्सा कुदाउँछिन् । ज्यानमा तागत सकिँदै गएको छ । पेट हरक्षण दुखिरहने बताउने उनी अहिले पनि रिक्सा नकुदाए हातमुख जोर्नै गाह्रो हुने बताउँछिन् । अहिले उनले कुदाएको रिक्सा जेठो छोरा अमरबहादुरको हो । अमरबहादुर क्याटरिङमा भान्सेको काम पाउँदा रिक्सा घरमा छाडेर हप्तौँसम्म घर बाहिर निस्कन्छन् । फुलमाया त्यही छोराको रिक्सा लिएर सडकतिर लाग्दिरहिछन् ।
फुलमायाको परिवार
अहिले फुलमाया ६१ वर्ष पुगिन् । पच्चीस वर्षअघि पतिले छाडेपछि फुलमाया एक्लैलाई चार छोरा र तीन छोरीको लालनपालन गर्ने जिम्मेवारी आइलाग्यो । चारपानेमा त्यसबेला बस्दा उनले साहुको घरमा भाँडा माझ्नेदेखि काठमाडौँमा गलैँचा बुन्नेसम्मको काम गरिन् । चिसोबाट जोगाउन नसक्दा उनका दुई छोराले धरती नै छाडे । अहिले छोरीको बिहे भइसकेर आफ्नो घर गएका छन् भने उनी नातिनातिनासँगै जेठो छोराको डेरामा छिन् । फुलमायाको जीवन नै डेरामा गुज्रिएको छ । जेठी बुहारी सात वर्षअघि छोराछोरीलाई पालनपोषण गर्न धन कमाएर ल्याउँछु भन्दै विदेश गएकी हालसम्म फर्केकी छैन । त्यही भएर नातिनातिना हुर्काउन जेठो छोराको घरमा आएकी रहिछन् उनी । एघार वर्ष पुगेको एउटा नाति चाउचाउ बोक्ने लेवरको काम गर्न थालेको उनी बताउँछिन् । घर नजिकै विद्यालय भए पनि नातिनातिना कसैले किताब देखेका छैनन् ।
विदेशमा फुलमाया
प्रथम महिला रिक्सा चालक भएको समाचार फैलिएपछि उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नजरमा परिन् । “झापा आएका बेला गिरिजाबाबुले काठमाडौँ आउ फुलमाया भन्नुभएको थियो,” गिरिजाबाबुसँगको भेट सम्झिँदै उनी भन्छिन्, “उहाँले नै मलाई अमेरिका जाने मौका मिलाइदिनुभयो ।” गिरिजाबाबुले फुलमायालाई ‘छोरी’ भनेर बोलाउने गरेको उनी बताउँछिन् । झापा कहिल्यै नछाडेकी फुलमाया अमेरिका र ब्रुनाई भ्रमणमा जान पाएकी थिइन् । उनलाई लैजानमा नेपाली काँग्रेसकी नेत्री गिरिराजकुमारी प्रसार्इंले ठूलो भूमिका खेल्नुभएको थियो । फुलमायाको नागरिकतासमेत प्रसाईंले नै बनाइदिनुभएको थियो । त्यही नागरिकताबाट राहदानी बनेपछि उनले प्रथम महिला रिक्सा चालककै हैसियतमा विदेश भ्रमण गर्न पाइन् । विदेशमा भव्य स्वागत र सम्मान पाएको उनले भुलेकी छैनन् । तर उनले त्यसबेला खिचेका तस्बिरको सङ्ग्रह भने गरेकी छैनन् । विदेशमा रहँदा पाएको उपहार र नगद सहयोग (डलर) नेपाल आउँदा नदिइएकामा भने उनको गुनासो छ । “फुलमाया डुल्यौँ, घुम्न पायौँ, सकियो नि उताको पैसा”, नेपाल आइपुगेपछि अमेरिका भ्रमणमा सँगै रहेका एक व्यक्तिले भनेको सम्झिँदै उनी थप्छिन्, “त्यो डलरले घर बनाउँला भन्ने सोचेको थिएँ, खाइदियो कसले ?” विदेशमा गाईको मासु खान दिँदा ‘नो नो’ भन्दै आफूले अस्वीकार गरेको उनले बताइन् । विदेशबाट फर्किंदा फुलमाया चिटिक्क सिङ्गारिएर घर आएको उनलाई नजिकबाट जान्ने शनि अर्जुन–५ की रूपा श्रेष्ठ फेदापे बताउँछिन् । फुलमायाको रिक्सामा पहिलापहिला धेरैपटक चढेको बताउने रूपा उनी असाध्य सरल र मेहनती महिला भएको बताउँछिन् । फुलमायाले चार महिनासम्म अमेरिका र ब्रुनाई घुमेकी थिइन् ।
किशुनजीदेखि राजेशसम्म
फुलमायाको रिक्सामा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि चलचित्रका नायक राजेश हमालसम्म चढेका छन् । विर्तामोड आएका बेला किशुनजीले काँग्रेस कार्यकर्तालाई फुलमाया कुन हुन् भनेर सोधेपछि उनलाई फुलमायासँग भेट गराइएको थियो । किशुनजी पान चपाउँदै फुलमायाको रिक्सामा गिरिराजकुमारी प्रसाईंको घरदेखि केही १०० मिटरसम्म यात्रु बनेका थिए । मालेका तत्कालीन नेता सिपी मैनाली र वामदेव गौतमले पनि फुलमायालाई साहसी महिला भनेर काठमाडौँ झिकाएर सम्मान गरेका थिए । ‘आफ्नो बिरानो’ सिनेमाको छायाङ्कनमा आउँदा नायक राजेश हमाल र कृष्टि केसीले फुलमायाको रिक्सा चढेका थिए । छायाङ्कनमा उनको रिक्सा प्रयोग भएको छ । काठमाडौँमा रिक्सा चालककै ख्यातिका कारण तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग भेट्न पाएको फुलमाया बताउँछिन् । त्यसबेला वीरेन्द्रले ‘घर बनाउन जग्गा खोजिदिने’ बताएको उनी सम्झिन्छिन् ।
बाध्यताले बनायो रिक्सा चालक
पतिले छाडेको डेरामा साना छोराछोरीलाई पेटभरि खान लाउन दिने उपाय अरू केही नदेखेपछि फुलमाया रिक्सा चलाउने निधोमा पुगेकी रहिछन् । उनका अनुसार एक दिन घरमा छोराछोरीलाई खान दिने केही थिएन । पानीमात्र उमालेर बच्चालाई खुवाएपछि उनी चारपानेको रामचोक पुगिछिन् । त्यहाँ रिक्साहरू उभ्याइरहेको देखेपछि उनलाई ‘रिक्सा कुदाउन पाए बच्चाहरूको पेट भोको हुने थिएन कि’ सोच आएछ । उभ्याइरहेको एउटा रिक्सा कसैलाई नसोधी कुदाउन खोजिन् । उनलाई कुदाउँछु भन्ने आँट आएछ । त्यसपछि विस्तारै उनले रिक्सा कुदाउन सिकिछिन् । तर पहिलो दिन नसोधी अर्काको रिक्सा कुदाउँदा उनले थप्पड खानुपरेको बताइन् । यस्तैमा एक दिन झापाको काँकडभिट्टाबाट हेटौँडासम्म रिक्सा ¥यालीको आयोजना हुँदा फुलमायाले पुरुषलाई पनि जितेर प्रथम भइन् । त्यही जितेपछि पाएको पैसाले रिक्सा किनेर उनले विर्तामोडमा महिला रिक्सा चालकको परिचय बनाएकी हुन् । पछि उनलाई धेरै दाताले सहयोग गरेका पनि थिए । अहिले विर्तामोडमा फुलमायाको रिक्साले फन्को मार्न थालेको सात दिनमात्र भएको छ । छोटो अवधिमै उनले पुराना इष्टमित्रलाई सिटमा बसाएर कुदाउन भ्याएकी छन् । शनिश्चरे ट्याक्सी स्टेन्डदेखि महानन्द चोकसम्म नियाल्दा फुलमायालाई रिक्सा हाँकिरहेको भेट्न सकिन्छ । रासस