एमाले अध्यक्ष राष्ट्रपति निवासमा, विपक्षीलाई समेटेर अघि बढ्न राष्ट्रपतिको आग्रह


kp oliराष्ट्रपति डा रामवरण यादवले संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई सकेसम्म समेटेर संविधान निर्माण कार्य अघि बढाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति डा यादवलाई भेट्न शीतलनिवास पुग्नुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति डा यादवले संविधान निर्माण प्रक्रियामा एमाओवादीलगायतका विपक्षी दलहरुलाई सँगै लिएर जान आग्रह गर्नुभएको हो । “राष्ट्रपतिसमक्ष अध्यक्ष ओलीले समसामयिक परिस्थितिबारे जानकारी गराउनुभयो । जवाफमा राष्ट्रपतिले संविधान निर्माणको दिशामा अघि बढ्नुस्, संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई समेटेर लैजाने प्रयास गर्नुस् भन्नुभयो”– भेटमा सहभागी एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभयो । भेटमा एमाले अध्यक्ष ओलीले एमाओवादीको संविधान निर्माणप्रति नियतमा शङ्का रहेको बताउँदै एमाओवादीलगायतका दललाई सहमतिमा ल्याउने प्रयास गरिने बताउनुभएको थियो । राष्ट्रपतिलाई भेट्न अध्यक्ष ओलीसहित उपाध्यक्ष भण्डारी र महासचिव ईश्वर पोखरेल शीतलनिवास पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?