फिलिपिन्समा मुस्लिम विद्रोहीसँगको भिडन्तमा ४९ कमाण्डो मारिए, घटनाको अनुसन्धान गर्ने आदेश
फिलिपिन्समा पक्राउ आदेश जारी भएका लडाकूको खोजीमा रहेको समयमा मुसलमान विद्रोहीसँग भएको भिडन्तमा ४० भन्दा बढी प्रहरी कमान्डोको मृत्यु भएको जानकारी प्रहरीले सोमबार दिएको छ । यस विद्रोही समूहसँग शान्ति सम्झौता भए पनि उक्त सङ्घर्ष भएको र फिलिपिन्सको सुरक्षा बलले हालका वर्षमा यति धेरै सुरक्षाकर्मी गुमाएको पहिलोपटक भएको जानकारी गृहमन्त्री म्यानुएल रोक्सासले दिनुभयो । राष्ट्रिय प्रहरी प्रमुख लियोनार्दो एस्पिनाले एक पत्रकार सम्मेलनमा मुलुकको दक्षिणी भागमा रहेको मिन्दानाओ द्वीपको विद्रोहीको बलियो नियन्त्रण रहेको मामासापानोमा ४३ कमान्डोको मृत्यु भएको जानकारी दिनुभयो । क्षेत्रीय प्रहरी प्रवक्ता जुडिथ आम्बोङले एएफपीलाई ४९ प्रहरीको शव प्राप्त भएको बताउनुभयो । उक्त घटनामा एघार प्रहरी घाइते भएका थिए भने मुसलमान विद्रोहीतर्फ भएको क्षतिका विषयमा कुनै पनि जानकारी दिइएको छैन । जुल्किफ्ली बिन हिर नामक व्यक्तिको खोजीमा रहेका करिब ४०० प्रहरी कमान्डोले शान्ति सम्झौतालाई अस्वीकार गर्ने र प्रमुख विद्रोही इस्लामी समूहबाट भिन्न भएको बाङसामोरो इस्लामिक फ्रिडम फाइटर्स लुकेर रहेको स्थानमा कारवाही गरेको थियो । गृहमन्त्री रोक्सासले प्रहरीले जेमाह इस्लामिया समूहका लागि बम बनाउने जुल्किफ्लीलाई मारेको दाबी गर्नुभएको छ । यस समूहले सन् २००२ मा बालीमा बम आक्रमण गरेको थियो भने अन्य घातक आक्रमण गरिरहेको छ । जुल्किफ्ली अमेरिकाले पक्राउ आदेश जारी गरिएका अपराधीका रूपमा रहेका छन् भने निजलाई पक्राउ गर्न ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको छ । कमान्डो फिर्ता हुनै लागेको समयमा उनीहरूको मोरो इस्लामिक लिबरेसन फ्रन्टसँग जम्काभेट भएको गृहमन्त्री रोक्सासले बताउनुभयो । फ्रन्टसँग करिब १० हजार लडाकू रहेका छन् र यो फिलिपिन्सको प्रमुख मुसलमान विद्रोही समूह हो । गत वर्ष मार्चमा यस समूहले सरकारसँग शान्ति सम्झौता गरेको थियो । फाइटर्स फ्रन्टबाट भिन्न भएको समूह हो र यसमा केही सय मुसलमान बन्दुकधारी रहेका छन् र उनीहरूले यस सम्झौतालाई स्वीकार गरेका छैनन् । राष्ट्रपति बेनिग्नो अक्विनोले यस घटनामा अनुसन्धान गर्न आदेश दिनुभएको छ । फ्रन्टले युद्धबिराम सम्झौताको व्यवस्था बमोजिम प्रहरीले उक्त कारवाहीको विषयमा समन्वय नगरेको आरोप लगाएको छ । गृहमन्त्री रोक्सासले यस घटनाले प्रभाव पार्ने भए पनि शान्ति वार्ता भङ्ग नहुने बताउनुभयो । उहाँले फाइटर्सका नेता बसित उस्मान भागेको बताउनुभयो । उस्मानमाथि हालै दक्षिणी भागमा भएको बम आक्रमणको आरोप लगाइएको छ । फ्रन्टका प्रमुख वार्ताकार मोहघर इक्बालले यो ठूलो समस्या हुने बताउनुभयो । फिलिपिन्स मुख्यतया क्याथोलिक मुलुक हो । यहाँ दक्षिणी प्रान्तहरूमा मुसलमान अल्पसङ्ख्यकका लागि स्वशासनको व्यवस्थाका लागि संसदमा हाल प्रस्तावित कानुनमा छलफल भइरहेको छ र फ्रन्टले यसैका लागि आफ्नो विद्रोह अन्त्य गरेको थियो । यसै वर्षको आरम्भदेखि विद्रोहीलाई निरस्त्र पार्ने काम आरम्भ हुने कार्यक्रम तय भएको थियो । इकबालले यो फ्रन्ट तथा सरकारी सेनाबीच यस वर्षको पहिलो भिडन्त भएको र यो नै अन्तिम हुने आशा व्यक्त गरे । उनले फ्रन्टले युद्धविरामलाई अझै मानेको उल्लेख गरे । विद्रोहीका उपाध्यक्ष गजली जाफरले गत मार्चमा हस्ताक्षर भएको शान्ति सम्झौता नै द्वन्द्वको समाधान भएको बताए । सरकारी शान्ति समूहका अध्यक्ष मिरियाम कोरोनेल फेरेरले एक विज्ञप्ति प्रकाशन गरी आइतबारको रक्तपात सुरक्षाको चुनौती भएको बताउँदै यसले वार्ताकारको दृढतालाई अझै बलियो बनाएको बताउनुभयो ।