अमेरिकामा संकट, हिमपातका कारण जनजीवन ठप्प, सतर्क रहन चेतवानी, ६ हजार ५ सय ६० भन्दा बढी हवाई सेवा पनि अबरुद्ध


mausamसंयुक्त राज्य अमेरिकाको न्यूयोर्क लगायत उत्तरपूर्वी क्षेत्रका बासिन्दाहरुलाई घरभित्रै रहन चेतावनी दिइएको छ । संकटकाल घोषणा गर्दै पूर्वसावधानी अपनाउन सर्वसाधारणलाई निर्देशन दिइएको छ । भयानक हिमआँधीको सम्भावना देखिएपछि यस्तो चेतावनी दिइएको हो । मौसम अत्यन्तै चीसो भएको छ र हिउँ तीन फिटसम्म पर्ने पूर्वानुमान गरिएको छ । हिउँका कारण मानवीय क्षति नहोस् भन्नका लागि यस किसिमको चेतावनी दिइएको हो । न्यूयोर्क राज्यका १३ काउन्टीमा सडक यातायात रोकिएको छ भने अहिलेसम्म ६ हजार ५ सय ६० भन्दा बढी हवाई सेवा पनि अबरुद्ध भएको छ । चीसोबाट बच्न र यस किसिमको मौसमको पूर्वतयारी स्वरुप मानिसहरु डिपार्टमेन्ट स्टोरहरुमा खाद्यान्न किन्नका निम्ति लाम लागेका छन् । न्यूयोर्कका गभर्नर एन्ड्रयू कुमोले भनेका छन्, यो निकै नै खतरनाक हुनसक्छ । त्यसैकारण पूर्वसावधानी अपनाउन हामी आग्रह गर्न चाहन्छौं ।
यतिबेला हिमपात जारी छ र हिमआँधी पनि आउने सम्भावना रहेको छ । यस्तै बाढी आउने सम्भावना पनि रहेको मौसमविदहरुले आंकलन गरेका छन्, यसैकारण विजुली जानसक्ने सम्भावना पनि रहेको सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । यस विपत्तिलाई सन् २०१२ को स्यान्डी आँधीसँगै तुलना गरिएको छ जसमा २ सयभन्दा बढी व्यक्तिहरुले ज्यान गुमाउन पुगेका थिए । न्यूयोर्कका मेयर बिल डे बाल्सीयोले भनेका छन्, यो शहरकै ईतिहासको सबैभन्दा ठूलो विपत्ति हुनसक्छ । त्यस्तैले यो संकटमा सचेत बनौं र सुरक्षित रहाँै । यसैबीच, नेपालीहरुका निम्ति एनआरएनका पदाधिकारीहरुले पनि सावधानी अपनाउन आग्रह गर्दै कुनै घटना भएमा सम्पर्क गर्नका निम्ति हटलाईनको व्यवस्था गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?