सम्वादको माध्यमबाटै विपक्षीसँगको गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री सुशील कोइरालाको दाबी
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित नेका जिल्ला कार्यसमितिका सचिवहरुका लागि क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उहाँले वार्ताका माध्यमबाट जारी गतिरोधलाई अन्त्य गर्न आफू लागिपरेको बताउनुभयो । मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उहाँले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “लोकतन्त्र शान्तिका लागि नेका निरन्तर लागिपरेको छ हिजो लोकतन्त्रका लागि लागेका थियौँ, आज लोकतन्त्र शान्ति र विकासका लागि लागेका छौँ ।” नेका उपसभापति एवम् प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले प्रक्रियाका साथै सहमतिको क्रम पनि बढ्नेमा जोड दिँदै आफूहरु सबैसँग सहमति गरेरै अघि बढ्ने बताउनुभयो । उहाँले सहमति भन्दै अनन्तकालसम्म अल्झिन नहुनेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता अर्जुननसिंह केसी, गगनकुमार थापा, कृष्णचन्द्र नेपालीलगायतले पार्टीबाट गरिने यस्ता किसिमका प्रशिक्षण सङ्गठन सुदृढीकरणका लागि निकै उपयोगी हुने बताउनुभयो । तीनदिने प्रशिक्षणका क्रममा पार्टी कार्यालय सञ्चालन, व्यवस्थापन, सूचना प्रसारण आदि सम्बन्धमा विभिन्न विज्ञबाट प्रशिक्षण दिइने सो पार्टीले जनाएको छ ।