काँग्रेसका जिल्ला सदस्यहरुलाई बालुवाटारमा निम्ता, गतिरोध वार्ताबाटै समाधान हुने धारणा व्यक्त
प्रधानमन्त्री एवम् नेपाली काँग्रे्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ७५ वटै जिल्लाका नेपाली काँगे्रसका जिल्ला सचिवका लागि आयोजित चियापान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । नेपाली काँग्रेसले शासकीय स्वरुप, न्यायप्रणाली जस्ता विवादित विषयमा लचकता अपनाएको भन्दै एनेकपा –माओवादी र मधेसवादी दल आफ्नो मुद्दाबाटपछि हट्न आग्रह गर्नुभयो । मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उहाँले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन आफूहरू लागिपरेको बताउनुभयो । आन्दोलनले विकासको सम्भावना गुम्ने भन्दै विपक्षीलाई आन्दोलन छाडेर वार्तामा आउनसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य धनराज गुरुङ तथा नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीको उपस्थिति रहेको थियो । कोइरालाले तीन दिनसम्म चलेको जिल्ला सचिवलाई प्रशिक्षण दिने प्रशिक्षकलाई प्रमाणपत्र वितरण पनि गर्नुभएको थियो ।