संविधान निर्माणका लागि काँग्रेस लचिलो भएपनि एमाओवादीले संविधान बनाउन नदिएको सिटौलाको आरोप
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्धारित मितिमा संविधान जारी गर्न नसक्नुमा एकीकृत नेकपा–माओवादी दोषी रहेको बताउनुभएको छ । नेपाली काँग्रेस झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज झापा आइपुग्नुभएका उहाँले बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै संविधान निर्माणका लागि सहमति जुटाउन नेपाली काँग्रेसले हदैसम्मको प्रयत्न गरे पनि त्यसलाई एमाओवादीले विफल पारेको बताउनुभयो । सबैको सहमतिबाट नेपाली काँग्रेस संविधान निर्माण गर्न चाहन्छ भन्दै उहाँले भन्नुभयो, “संविधान निर्माणपछि क्षेत्रीय र जातीयताका नाममा मुलुकमा द्वन्द्व निम्तनु हुँदैन ।” नेपाली काँग्रेसले संविधान निर्माणका लागि अझै पनि सहमतिका लागि निरन्तर प्रयत्न गरिरहेको बताउँदै महामन्त्री सिटौलाले साहस र दृढताका साथ नेपाली जनताले चाहेको संविधान नेपाली काँग्रेसले जारी गरेरै छाड्ने धारणा राख्नुभयो ।