सरकार संविधान बनाउन उकालो लागिसक्यो, पर्खदै अघि बढ्दैको नीति रहेको पौडेलको स्पष्टोक्ति


???????????????????????????????????????????????????नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको क्रममा उकाली चढेको सरकार उकाली पनि चढ्दै र विपक्षी मोर्चालाई पनि पर्खँदै अगाडि बढ्ने बताउनुभएको छ । लौह पुरुष गणेशमान शतवार्षिकी अवसरमा पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अर्को पाँच दिन पर्खिने अर्को चौतारी हो, पर्खँदा पनि सहमति भएन भने अगाडि बढ्ने हो ।” उपसभापति पौडेलले लोकतान्त्रिक प्रक्रियाको सुन्दरता बहुमतबाट विषयको छिनोफानो गर्ने नै भएकाले सहमति नभएमा बहुमतीय पद्धतिबाटै संविधान जारी हुने बताउनुभयो । आफूहरूले सहमतिको लागि हदैसम्म लचक भएपनि विपक्षी मोर्चाले अड्को थापेकाले सहमति हुन नसकेको प्रष्ट पार्दै उहाँले केही व्यक्तिले सहमतिको नाममा रचेको प्रपञ्च सफल नहुने दाबी पनि गर्नुभयो । अघिल्लो संविधानसभामा लोकतन्त्र पक्षधरसँग बहुमत नभएको स्मरण गर्दै उहाँले त्यही कारणले शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली तथा सङ्घीयताको विषयमा पनि आफूहरू लचकदार भएको उल्लेख गर्नुुभयो । उपसभापति पौडेलले सहमतिको प्रयासको अर्ति दिँदै आएका कूटनीतिक निकायका अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रश्न गर्नुभयो, “यहाँ सबैले उपदेश दिन्छन्, सहमतिबाटै सबै कुराको छिनोफानो हुने भए संयुक्त राष्ट्र सङ्घमा किन सहमतिबाट निर्णय हुँदैन ?” उहाँको थप प्रश्न थियो, “ किन त्यहाँ भिटो प्रयोग हुन्छ, सहमतिको कुरा गर्नेहरूको देशमा सहमतिले सरकार चलेको छ ? ।” आफ्नो देशमा बहुमतबाटै विषयको छिनोफानो गर्नेहरूले अरुलाई सहमतिको अर्ति दिन नहुने बताउँदै उहाँले विश्वभरका नेताहरूलाई नेपालको सन्दर्भमा सहमतिको कुरा नगर्न आग्रह गर्नुभयो । अहिले नेपालमा फालिएको सहमतिको महाजालबाट उम्कन र लोकतान्त्रिक संविधान दिनकै निम्ति आफूहले प्रक्रियाको कुरा गरेको प्रष्ट पार्दै उहाँले सबैले स्वीकारेको लोकतान्त्रिक गणतान्त्रिक संविधान दिन आफूहरू प्रतिबद्ध भएको बताउनुभयो । अधिनायकवादमा मधेसी, जनजाति र अल्पसङ्ख्यकको अधिकारको रक्षा हुँदैन भन्दै उपसभापति पौडेलले प्रत्यक्ष निर्वाचिन राष्ट्रपति हुँदा उनीहरूको मुद्दा ओझेलमा पर्ने भएकाले यस्तो भ्रमको पछि नलाग्न उहाँले आम नागरिकसँग आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, सभासद् यज्ञबहादुर थापा, शारदा पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?