नेपाल टेलिभिजनको तेस्रो समाचार च्यानल २४ घण्टा प्रशारण हुँदै, सार्वजनिक प्रशारण संस्था बनाउने नेतृत्व लिन मन्त्री रिजालको आग्रह
नेपाल टेलिभिजन (एनटिभी)ले सञ्चालनमा ल्याएको तेस्रो समाचार च्यानललाई निकट भविष्यमै चौबिसै घन्टा प्रसारण गर्ने र इटहरी तथा कोहलपुरबाट नयाँ च्यानल प्रसारण गर्ने आन्तरिक तयारी सुरु गरेको छ । गत कात्तिक १ गतेदेखि एनटिभीले तेस्रो च्यानल सञ्चालनमा ल्याएको थियो । ती दुई स्थानबाट नयाँ च्यानल सञ्चालनसँगै एनटिभीका अब पाँचवटा प्रसारण च्यानल हुनेछन् । स्थानीय पुरातात्विक वस्तु, रहनसहन, वेशभूषा, जीवन्त कला संस्कृति, भाषालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा समाचार र जानकारीका माध्यमबाट निष्पक्ष र तटस्थ रूपमा प्रसारण गर्ने लक्ष्य ती दुई च्यानलले राखेका छन् । एनटिभीको ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कामलाई आगामी केही वर्षभित्र सम्पन्न गर्ने एनटिभीले बतायो । विसं २०४१ माघ १७ गते स्थापना भएको संस्थानले आफूलाई सार्वजनिक प्रसारण संस्थाको भूमिकामा उभ्याउँदै सूचना तथा समाचार सामग्री हाल भूउपग्रहमार्फत देशभर र विश्वका ११६ मुलुकका दर्शकमाझ पु¥याइराखेको छ । अर्काेतर्फ नीति निर्माता, व्यवस्थापक र ट्रेड युनियनका बीचमा पछिल्लो समय सन्तुलन नहुँदा केही समस्या देखापरेको त्यहाँ कार्यरत कर्मचारीले गुनासो गरेका छन् । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वार्षिकोत्सव समारोहमा एनटिभी र रेडियो नेपालको मानवीय एवम् भौतिक सम्पत्तिलाई रूपान्तरण गरी सार्वजनिक प्रसारण सेवा संस्था बनाउने नीतिगत निर्णय भइसकेकाले यसलाई कार्यान्वयनमा लान मन्त्रालयले आवश्यक सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले यसका लागि गठित कार्यदललाई छिटो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिँदै प्रतिवेदनमा आउने सुझाव मन्त्रालयले कार्यान्वयन गर्ने विश्वास दिलाउनुभयो । उक्त कार्यदलको कार्यालय एनटिभीको भवनभित्रै रहेको छ । मन्त्री रिजालले भन्नुभयो – हालै प्रसारणमा आएको तेस्रो समाचार च्यानल कुन रूपमा सञ्चालन गर्ने हो ? बन्द नै गर्ने हो अथवा सार्वजनिक प्रसारण सेवा संस्था नबनुन्जेलसम्मका लागि स्थगित गर्ने हो ? यसबारे निर्णयमा पुग्न म सञ्चालक समितिलाई आग्रह गर्दछु । सूचना तथा सञ्चारमन्त्रालयका सचिव सुनिलबहादुर मल्लले एनटिभी र रेडियो नेपाललाई समन्वय गरी सार्वजनिक प्रसारण सेवा संस्था बनाउने कार्यले सूचना र सञ्चार क्षेत्रमा नयाँ अध्याय थपिने विश्वास व्यक्त गर्नुभयो । एनटिभीका अध्यक्ष निर शाहले एनटिभी र रेडियो नेपाललाई समन्वय गरी सार्वजनिक प्रसारण सेवा संस्था बनाउन गठित कार्यदलले यसका भावी सङ्गठन, सम्पत्ति, कानुनी पक्ष, प्राविधिक र कार्यक्रमबारे अध्ययन गरिरहेको बताउनुभयो । एनटिभीका महाप्रबन्धक लक्ष्मण हुमागार्इंले संस्थानलाई राजनीतिक र व्यापारिक प्रभावबाट मुक्त राखी सत्यतथ्यमा आधारित निष्पक्ष र तटस्थ सूचना एवम् जानकारी दर्शकमाझ पु¥याउने काममा ध्यान दिइएको बताउनुभयो । एनटिभी कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धितालले व्यवस्थापनको असक्षमताले शान्ति प्रवद्र्धनका लागि शान्ति कोषबाट प्राप्त रकम दुरूपयोग भएको बताउँदै तेस्रो च्यानल प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको गुनासो गर्नुभयो । नेपाल पत्रकार महासङ्घ एनटिभी प्रतिष्ठानका अध्यक्ष सालिक सुवेदीले एनटिभीमा कार्यरत सञ्चारकर्मीले निष्पक्ष र तटस्थ भई समाचार सङ्कलन कार्य गरिरहेको बताउनुभयो ।
पुरस्कार तथा सम्मान
सो अवसरमा संस्थानमा २० वर्ष काम गर्ने विभिन्न तहका सातजना कर्मचारीलाई दीर्घसेवा पुरस्कार एवम् एनटिभी राष्ट्रिय प्रसारणबाट निरन्तर लामो अवधिसम्म प्रसारण हुँदै आएको हास्यव्यङ्ग्यात्मक कार्यक्रम जिरे खुर्सानीका निर्देशकद्वय जितु नेपाल र शिवहरि पौडेललाई सम्मान गरिएको थियो । एनटिभी स्थापना भएपछि पहिलोपटक प्रसारणमा आएका ‘यस्तै हुन्छ’, ‘पृथ्वीनारायण शाह’, ‘बाचा बिर्सेको छैन’ नामक टेलिचलचित्रका निर्देशकहरू क्रमशः उज्ज्वल घिमिरे, कृष्ण मल्ल र रमेश बुढाथोकी, उत्कृष्ट विज्ञापनदाता कम्पनीहरू मिडिया टाइम्स प्रालि, वल्र्ड भिजन मिडिया हाउस प्रालि र मिडिया हव प्रालिलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । यसैगरी, पहिलो सञ्चालक समितिका सदस्य अमृतनाथ रेग्मी, भूपराज पाण्डे, सुवर्ण क्षेत्री र रवीन्द्रशमशेर राणालाई सम्मान तथा उत्कृष्ट जिल्ला समाचारदाताहरू दिलीप थापा मगर (भक्तपुर), प्रकाश भाट (डडेलधुरा), वीरबहादुर गिरी (जाजरकोट), लालकुमार भट्टराई (नवलपरासी), सुजन तिमल्सिना (पाँचथर) र सन्तोष यादव (सुनसरी)लाई पुरस्कार प्रदान गरिएको थियो ।