माओवादी प्रक्रियामा नआएपनि संविधान भने आउने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनेकपा माओवादीलगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताउनुभएको छ । प्रगतिशील प्राध्यापक सङ्गठनको नयाँ कार्यसमितिको पद हस्तान्तरणका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारका लागि नभई संविधान निर्माणको अग्रभागमा रहेर भूमिका निर्वाह गर्न अग्रसर रहेको स्पष्ट गर्नुभयो ।अध्यक्ष ओलीले भन्नुभयो, “प्रक्रिया अघि बढिसकेको छ, अब मुलुकले लोकतान्त्रिक संविधान पाउनेछ, एमालेले त्यसको अगुवाइ गर्नेछ ।” उहाँले राष्ट्रिय एकता, मुलुकको समृद्धि, दीगो शान्ति, जातीय सद्भाव र सामाजिक रुपान्तरणका आधारमा नयाँ संविधान आउने पनि बताउनुभयो । अध्यक्ष ओलीले जातीय पहिचानको राज्य पुनःसंरचना मुलुकलाई आवश्यक छैन भन्नेतर्फ प्राध्यापक र बुद्धिजीवीले पनि सामाजिक चेतना फैलाउन आग्रह गर्नुभयो ।कार्यक्रममा सङ्गठनका निवर्तमान अध्यक्ष विजयबहादुर सिलवालले नवनिर्वाचित अध्यक्ष डा यादवप्रकाश लामिछानेलाई पद हस्तान्तरण गर्नुभयो ।