एमाले स्थायी कमिटी बैठकको दोश्रो दिन, सहमति र वार्तामा आउन पुनः जोड


cpn umlनेकपा (एमाले) को बसेको स्थायी कमिटी बैठकमा प्रतिपक्षी दललाई सहमति, सहकार्य र वार्तामा ल्याई संविधान लेखनमा सहभागी गराउन पुनः जोड दिइएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको बैठकमा एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रयत्न जारी राख्नुपर्ने र जनमतको सम्मान गर्न जतिसक्दो छिटो सहमतिका साथ संविधान निर्माण गर्नुपर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । बैठकमा एमाओवादी र मोर्चालाई सहमतिमा ल्याउन पार्टी लचिलो भएर सहभागी हुनुपर्ने र जसरी पनि राष्ट्रिय राजनीतिलाई मिलाएर संविधान लेखनका विषयमा सहमति जुटाउनुपर्नेमा धेरै स्थायी कमिटी सदस्यहरुले मन्तव्य व्यक्त गरेको उहाँले बताउनुभयो । जतिसक्दो चाँडो संविधान बनोस् भन्ने जनताको चाहना रहेकाले एमाओवादीलगायत आन्दोलनरत पक्षले मुलुकमा अशान्ति र आन्दोलन गरेर अघि बढ्नु सही नभएको बैठकको ठहर गरेको छ । पार्टीको कार्य विभाजनका विषयमा पनि आज छलफल गरिने भए पनि राष्ट्रिय राजनीतिका विषयमा छलफल जारी रहेकाले र आगामी बैठकमा कार्यविभाजनलगायतका विषयमा छलफल गरिने पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । अर्को बैठक आगामी फागुन ३ गते बस्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?