भारतमा नेपाली युवतीमाथि सामूहिक बलात्कार गरी हत्याको आरोपमा ७ जना गिरफ्तार
सुस्त मनस्थितिकी बर्दियाकी एक युवतीको भारतको हरियाणास्थित रोहतकमा भएको बलात्कार र हत्याको प्रकरणमा नयाँ मोड आएको छ । प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । यसमध्ये एकजना नेपाली पनि भएको बताईन्छ । प्रहरीले अनुसन्धानमा सुस्तता देखाएको आरोप लागेपछि यस घटनासम्बन्धी सुराकी दिनेलाई ५ लाख रुपैयाँको घोषणा गरिएको थियो । यस लगत्तै सात जना पक्राउ परेका हुन् । उपचारको लागि बर्दियाबाट त्यहाँ आफन्तका साथ पुगेकी नेपाली युवतीको शव गत फेब्रुअरी ४ तारिखका दिन रोहतक हिसार हाईवेनजिकैको खेतमा भेटिएको थियो । उनको योनीमा १४ ईन्चको रड भेटिएको थियो भने केही कण्डम पनि भित्र नै थिए । उनका शरीरका अंगहरु कुनै जंगली जनावरले खाएको जस्तो देखिन्थ्यो भने टाउकोको हड्डी फुटेको थियो । सामूहिक बलात्कार गरी उनको हत्या गरेको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ । एक फेब्रुअरीदेखि हराईरहेकी उनको विषयमा आफन्तले प्रहरी चौकीमा खोजीदिन आग्रह गर्दै निवेदन दिएका थिए । प्रहरीले सुरुमा वास्तै नगरेको र शव भेटेपछि मात्रै सक्रियता देखाएको आरोप परिवारले लगाएको छ । भारतमा बलात्कार र हत्याका घटना बढ्दै गएका छन् भने पछिल्लो समय भएको एउटा तथ्यांकले भारतमा हुने ९० प्रतिशत बलात्कारका घटना सार्वजनिक नै नहुने देखिएको छ । यसले विश्वमै भारतको छवि बिग्रदै गएको छ । पर्यटकहरु समेत असुरक्षित हुने क्रम बढेको छ । दिल्ली र हरियाणा नजिकैका शहर हुन् । दिल्ली र दिल्ली आसपासको क्षेत्रलाई महिलाहरुको निम्ति अत्यन्तै खतरनाक क्षेत्र मान्ने गरिएको छ ।