नयाँ दिल्लीमा केजरीवाललाई प्रचण्ड बहुमत, ७० मध्ये ६७ सिटमा विजयी, भाजपालाई ३, काँग्रेस आई शून्य
भारतीय राज्य नयाँ दिल्लीमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीले प्रचण्ड बहुमत हासिल गरेको छ । मंगलबार भएको मतगणनामा सो पार्टीले अनपेक्षित धेरै स्थानमा जित हात पारेको हो । आपले ६७ सिटमा विजय हासिल गरेको छ भने भाजपाले मात्र ३ सिट जितेको छ । काँग्रेस आई शून्य सिटमा समेटिएको छ । यस निर्वाचनलाई भारतीय जनताले नयाँ र अनपेक्षित परिणाम भनी निकै चाखपूर्ण रुपमा हेरिरहेका विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चिनिने अरविन्द केजरीवालले आम आदमी पार्टीको नेतृत्व गरिरहनुभएको छ । उहाँले भारतमा सूचना हकको प्रयोगगरी भ्रष्टाचार निवारणको अभियान सञ्चालन गर्नुभएको थियो । उहाँ यसअघिको निर्वाचनमा पनि नयाँ दिल्लीको मुख्यमन्त्री भइसक्नुभएको थियो । गत निर्वाचनमा ठूलो पार्टीका रुपमा उहाँले सरकार गठन गर्नुभएको भएपनि पछि उहाँले ४९ दिनमा नै राजिनामा दिनुभएको थियो । त्यस समयमा उहाँलाई अर्काे विपक्षी पार्टीले सरकार निर्माणका लागि समर्थन गरेको थियो । तर यसपटक भने उहाँले अब आफैँ सरकार निर्माण गर्नसक्नेगरी प्रचण्ड बहुमत प्राप्त भएको छ । करिब एकवर्ष मात्र अघि भएको विधान सभाको निर्वाचनमा भारतीय जनता पार्टीले ३१ स्थान हासिल गरेको थियो । तर अहिले आएर भने छोटै समयमा यो अलोकप्रियता सहुनपरेको बताइएको छ । यसअघि आफैँ मुख्यमन्त्री भएको समयमा दिल्ली प्रहरीका विरुद्धमा उहाँले गर्नुभएको आमरण अनशन र उहाँले मुख्यमन्त्री भएको केही महिनामा नै भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भनी दिएको राजिनामा पछि केजरीवाल केही आलोचित पनि बन्नुभएको थियो । तर पनि पछि आएर उहाँले आफुले वास्तवमै भ्रष्टाचार निवारणका लागि काम गरेकोले यसका लागि नयाँ दिल्लीजस्तो राजधानी सहरका नागरिकको सहयोगको अपेक्षा गर्नुभएको थियो ।
केजरीवाललाई प्रधानमन्त्री मोदीको बधाई
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवाललाई बधाई दिनुभएको छ । आम आदमी पार्टीले प्रचण्ड बहुमत हासिल गरी नयाँ दिल्लीमा सरकार गठन गर्ने स्पष्ट भएपछि उहाँले केजरीवाललाई फोन गरी बधाई दिनुभएको हो भने बधाईका शब्दहरु ट्वीट पनि गर्नुभएको छ ।
आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवालले यो जितलाई जनताको जित भन्नुभएको छ । उहाँले मङ्गलबार नयाँ दिल्लीमा सञ्चारमाध्यमलाई दिनुभएको प्रतिक्रियामा सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– यो जनताको जित हो, मलाई जनताले भारतमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कामका लागि विश्वास गरेका छन् ।