सभाध्यक्षद्वारा दलहरूलाई सहमतिका लागि दश दिनको समय दिने पक्षमा


nembangराजनीतिक दलहरूलाई सहमति कायम गर्न सहज हुने गरी संविधानसभा बैठक आज बिहीबार डाकेर १० दिनका लागि स्थगन गरिने भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले सहमतिलाई प्राथमिकता दिँदै दलहरूको भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने मनसाय राखेको जानकारी दिनुभयो । दलहरूबीच सहमतिका लागि भोलि १ बजेसम्म केही त्यस्तो सङ्केत आइदिए आफू समय उपलब्ध गराउने पक्षमा रहेको खुलासा गर्दै सभाध्यक्ष नेम्वाङले अहिलेसम्म भने केही सङ्केत नदेखिएको बताउनुभयो । आज बस्ने संविधानसभा बैठकमा प्रस्ताव निर्माण समितिले पेस गर्ने प्रश्नावलीसहितको प्रस्ताव टेबुल भई आज नै दलहरूको भावनाअनुसार अनुमोदन हुने जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सहमतिका लागि दलहरूले पाएको समय सदुपयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । दलहरूले सहमतिका लागि पटकपटक पाएको समयमा कुनै निष्कर्ष ननिस्केको गुनासो गर्दै उहाँले भन्नुभयो, “सहमति भनेर मात्र भएन । त्यसका लागि त संवाद हुनुपर्छ ।” प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रस्ताव संविधानसभाले अनुमोदनको प्रक्रियामा लैजाँदा सिधै कार्यान्वयनमा लैजान सकिने भएपनि दलहरूबीचको सहमतिबाट अनुमोदन गराउने तयारी गरिएको हो । यसअघि राष्ट्रपति डा रामवरण यादवसँग भएको भेटमा राष्ट्रपतिले संविधान निर्माणका बारेमा चासो र चिन्ता राखेको जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सहमतिमा संविधान ल्याउन दलहरूबीचको संवादहीनताको अवस्था टुट्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?