चौधतोला नक्कली सुनको चुरालाई सक्कली भन्दै ठगी गर्नेलाई जेल
नक्कली सुनलाई सक्कली भन्दै स्थानीयवासीलाई झुक्याएर बिक्री गर्दै ठगी गर्ने दुई व्यक्तिलाई २÷२ वर्षको जेल सजाय तोकिएको छ । सोलुखुम्बुको लुक्ला बजारका बासिन्दालाई झुक्याएर नक्कली सुन बेच्ने बाकाचोल गाविस खोटाङका कर्णबहादुर तामाङ र गोपिचन्द्र विश्वकर्मालाई सोमबार जिल्ला अदालत सोलुुखुम्बुले जेल सजाय तोकेको हो । लुक्लाका कृष्णबहादुर नेपालीलाई १४ तोला तौल भएको नक्कली सुनको चुरा सक्कली भनी झुक्याएर धितो राखी रु चार लाख ५० हजार नगद लिएर फरार भएका तामाङ र विकलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गत भदौ २४ गते पक्राउ गरेको थियो । सोलुखुम्बुका जिल्ला न्यायाधीश दीपककुमार खरेलको एकल इजलासले ठगीमा संलग्न अभियुक्तलाई दुई–दुई वर्ष जेल सजाय र जरिवाना तोकेको छ । अदालतका अनुसार तामाङलाई दुई वर्ष जेल सजायका साथमा रु तीन लाख ३९ हजार र विश्वकर्मालाई दुई वर्ष कैदको साथमा एक लाख ११ हजार रुपैयाँ जरिवाना तोकेको हो । तामाङ राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षागार्ड पदमा कार्यरत रहेका थिए भने विश्वकर्मा काठमाडाँैबाट नक्कली सुन खरिद गर्दै आएका थिए ।